प्रधानमन्त्री र गृहमन्त्री हेडक्वाटर पुगेर प्रहरीको हौसला यसरी बढाए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६६औं प्रहरी दिवस २०७८ सम्पन्न भएको छ ।

प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका छन् ।

प्रधानमन्त्री देउवाले प्रथम महिला प्रहरी सेवा निवृत्त प्रहरी सहायक निरीक्षक चैतमाया डंगोललाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरेका छन् । देउवाले कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने यस वर्ष घोषित ३३ जना अमर प्रहरीमध्ये ७ जना अमर प्रहरीका परिवारहरूलाई कदरपत्र प्रदान गरेका छन् । देउवाले ‘प्रहरी दर्पण २०७८’को लोकार्पण समेत गरेका छन् ।

देउवाले नुवाकोट विदुर नगरपालिका–२ का अमर प्रहरी प्रहरी जवान मनोज कुमार हमालका छोरा हार्दिक हमाल र दोलखा लामिडाँडा–८ का अमर प्रहरी प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काकी छोरी सन्जीवनी खड्कालाई अच्युत–मिना अमर प्रहरी परिवार पुरस्कार तथा वैतडी शिवनाथ–२ का अमर प्रहरी शेरसिंह साउदको छोरा अनिल साउद र सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ का अमर प्रहरी प्रहरी जवान रामबहादुर चौधरीकी छोरी नीमृत चौधरीलाई अच्युत–मीना अमर प्रहरी परिवार छात्रवृत्ति प्रदान गरेका छन् ।

प्रधानमन्त्री देउवाले नेपाल प्रहरी अपराधको संजाल र अवाञ्छित गतिबिधि निस्तेज गर्न दृढ संकल्पित रहेको चर्चा गरेका छन् ।

हालको परिस्थितिको कुनै पनि प्रवाह नगरी संगठनका प्रत्येक सदस्यहरु पेशागत कर्तव्य पालनामा अझ उच्च मनोबलका साथ कार्य सम्पादनमा खटिने अपेक्षा लिएको उनले बताएका छन् ।

निष्पक्ष अनुसन्धान र कानून कार्यान्वयन कानूनी राज्यका आधार भएको तथा निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनुका साथै राज्यमा दण्डहिनताको अन्त्य गर्न समेत मद्दत पुग्ने देउवाले उल्लेख गरेका छन् ।

‘कुनै पनि स्वार्थ तथा शक्तिबाट प्रभावित नभई निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने विश्वास लिएको छु’, देउवाले भनेका छन् ।

प्रहरी संगठनले थालेका सुधारका रचनात्मक कार्यलाई सफल तुल्याई नेपाल प्रहरीको संस्थागत विकासमार्फत प्रभावकारी ढंगबाट प्रहरी सेवा प्रवाह गर्न उनले विशेष आग्रह गरेका छन् ।

देउवाले विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको वर्तमान अवस्थामा संगठित एवं विद्युतिय संजालमा आधारित भएर विश्वभर फैलिरहेको अपराधका नयाँ प्रवृत्ति र शैलिहरूप्रति नेपाल प्रहरी ज्यादै चनाखो र प्रभावकारी हुनु जरुरी रहेको बताएका छन् ।

विशेष अतिथि गृहमन्त्री बालकृष्ण खाणले नेपाल सरकारको एउटा अभिन्न अंगको रुपमा रहेको नेपाल प्रहरीले नागरिकको जीवन रक्षाको साथै शान्ति सुरक्षा सुव्यवस्था वहाल गर्न, देशमा अमन चयन कायम गर्न, संविधानको रक्षा र विधिको शासनको पालना गराउन अंग्रपक्तिमा रहेर कर्तव्य निष्ठ रहँदै आएको बताएका छन् ।

अपराध नियन्त्रण र अनुसन्धान एवम् शान्ति सु–व्यवस्था कायम गर्न सबै सुक्षा निकायहरूलाई आधुनिकीकरण गर्न, साधनस्रोत सम्पन्न बनाई नयाँ चुनौतीको सामान गर्न सक्षम बनाउन वर्तमान सरकार ज्यादै संवेदनशील र गम्भीर रहेको खाणले बताएका छन् ।

‘बाढी, पहिरो तथा प्राकृतिक विपद् उद्दार, राहत र व्यवस्थापनका लागि तथा कोभिड–१९ को महामारीको समयमा संक्रमणको प्रवाह नगरी अग्रपंक्तिमा नेपाल प्रहरीले आम नागरिकको जीवन रक्षाका लागि निर्वाह गरेको महत्वपूर्ण भूमिकाको प्रशंसनीय छ’, गृहमन्त्री खाणले भनेका छन् ।

खाणले भने, ‘आगामी दिनमा नेपाल सरकार अझै प्रहरीमैत्री हुने र प्रहरीको क्षमता वृद्धिका लागि प्रतिवद्ध रहनेछ ।’

उनले आफ्नै जीवनलाई समेत जोखिममा पारी राज्यले सुम्पिएको दायित्व निर्वाह गर्ने क्रममा आफ्नो प्राण उत्सर्ग गर्ने अमर तथा वीर प्रहरीहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

खाणले कर्तव्यपालनका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

आफ्नो दायित्व निर्वाह गर्ने क्रममा सबै प्रहरी कर्मचारीहरू उत्कृष्ट रुपमा प्रस्तुत हुन र राष्ट्र एवम् जनताको हक हित रक्षाको लागि अझै संवेदनशील र गम्भीर हुन गृहमन्त्री खाणले प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक क्षेत्रीले प्रहरी गतिशील संगठन भएकोले यसको समुचित कार्य बिशिष्टिकरण प्रहरीको ध्येय हुनुपर्ने बताएका छन् ।

प्रहरी हवल्दार तथा प्रहरी जवानको मनोबल र उत्प्रेरणा अभिवृद्धिका क्षेत्र पहिचान गरी सोही बमोजिम क्षेत्रगत रुपमा तत्कालीन र दीर्घकालीन

योजना बनाइएको बताउँदै आईजीपी क्षेत्रीले प्रहरीलाई प्रणालीगत रुपमा सञ्चालन गर्न १३ वटा नयाँ कार्यादेश कार्यान्वयनमा ल्याइएको बताए ।

प्रचलनमा रहेका प्रशिक्षणलाई नागरिक मैत्री बनाउन ७ वटा पाठ्यक्रमहरु परिमार्जन गरिएको, १० वटा नयाँ पाठ्यक्रमहरू स्वीकृत गरिएको तथा १ सय ३३ वटा कार्यदेश, निर्देशिका र मापदण्ड तर्जुमा गरिएको उनले बताए ।

६६औं प्रहरी दिवस २०७८ सबै प्रदेश प्रहरी कार्यालयहरू तथा मातहात समेतमा विविध कार्यक्रमहरूका साथ मनाइनुका साथै यस वर्ष घोषित ३३ जनामध्ये २६ जना अमर प्रहरीका परिवारहरूलाई पायक पर्ने प्रदेश प्रहरी कार्यालयमा कदरपत्र प्रदान गरिएको छ ।

Published : Wednesday, 2021 October 6, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया