भारतद्वारा कोशी कोरिडोर विद्युत प्रसारणलाइन हस्तान्तरण

काठमाडौं । २२० केभी डबल सर्किट क्षमताको कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार) को निर्माण सम्पन्न भएको छ ।

धनकुटा जिल्लाको हिलेमा बुधबार एक समारोहको आयोजना गरेर नेपाल विद्युत प्राधिकरणलाई उक्त विद्युत प्रसारणलाइन हस्तान्तरण गरिएको नेपालका लागि भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

१०६ किलोमिटर लामो कोशी कोरिडोर विद्युत प्रसारणलाइनको निर्माण कूल नेरु. १०.४ अर्ब लागतमा निर्माण भएको छ ।

भारत सरकारले नेपाललाई एक्जिम बैंकमार्फत उपलब्ध गराएको ५५० मिलियन अमेरिकी डलर ऋण सहयोगअन्तर्गत यस प्रसारण लाइनको निर्माण भइरहेको छ ।

भारतको कलपत्रु पावर ट्रन्समिसन लिमिटेडले नेरु ४.५ अर्ब लागतमा यस परियोजनाको पहिलो प्याकेजको निर्माणको जिम्मा लिएकोमा उक्त प्याकेजको सफलतापूर्वक निर्माण सम्पन्न भई नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरिएको छ ।

बाँकी दुई वटा प्याकेजको निर्माण सम्पन्न भएपछि यस सिंगो परियोजनाले अरुण र तमोर नदीका जलविद्युत परियोजनाबाट उत्पादन हुने करिब २००० मेगावाट विजुलीको सहज वितरणलाई सुनिश्चित गर्नेछ ।

कलपत्रु पावर ट्रन्समिसन लिमिटेड र भारतको एक्जिम बैंकले दूतावासका नियोग–उपप्रमुख नामग्य खम्पाको उपस्थितिमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकलाई सो परियोजना हस्तान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कोशी कोरिडोरको अतिरिक्त भारतले १३२ केभी क्षमताका मोदी–लेखनाथ र सोलु कोरिडोर विद्युत प्रसारणलाइनको निर्माणमा पनि सहयोग गरिरहेको छ ।

दुई देशबीच अन्य विद्युत प्रसारण लाइनको निर्माणमा भारतले गर्दै आएको निरन्तर सहयोगलाई जारी राखेको छ ।

यो ‘छिमेक पहिलो’ नीति अनुरुप भारतले जोड दिएको सीमापार आर्थिक कनेक्टिभिटिको महत्वपूर्ण पक्षको रुपमा रहेको छ ।

Published : Wednesday, 2021 October 6, 7:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया