कांग्रेस घर हो, घरभित्र कसैको हार–जित हुँदैन : भक्तपुर सभापति थापा

काठमाडौं । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आफ्ना लागि सबै कार्यकर्ता र उम्मेदवार बराबर भएको बताएका छन् ।

भक्तपुरमा शनिवार सूर्यविनायक नगर कार्यसमितिका नव निर्वाचित पदाधिकारीको पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले वडा र नगर अधिवेशन निष्पक्ष र प्रभावकारी रुपले सम्पन्न भएको भन्दै सबैलाई धन्यावाद दिएका छन् । उनले आफूले कोहीकसैको पक्षमा भोट नमागेको बताएका छन् ।

थापाले कांग्रेसको महाधिवेशन हेर्न भक्तपुर आउनुपर्ने संदेश दिन सफल भएको भन्दै सन्तोष व्यक्त गरेका छन् ।

‘हामीले पूर्णतः बिधान बमोजिम काम गरेका छौं । कसैलाई काखा र पाखा गरेका छैनौं’, थापाले भने, ‘महाधिवेशन कस्तो हुनुपर्छ भन्ने हेर्न भक्तपुर आउन हामी आग्रह गर्दछौं ।’

उनले भने, ‘महाधिवेशनमा पार्टीका कार्यकर्ताबीच आन्तरिक प्रतिस्पर्धा हुने र लोकतन्त्रको सौन्दर्य यहीं नै हो ।’ थापाले पार्टीभित्रको चुनावले आन्तरिक लोकतन्त्र बलियो बन्ने बताएका छन् ।

कार्यकर्तालाई पार्टीप्रति बफादार बनाउने र संगठन अझ मजबुत बन्ने उनले बताएका छन् ।

सभापति थापाले भक्तपुरमा कोही उम्मेदवार पनि पराजित नभएको बताएका छन् । ‘जिजयी बन्न नसकेका उम्मेदवारहरू पराजित नभई उप–विजेता भएका हुन्’, उनले भने, ‘आफ्नो घरभित्र कसैको पनि हार वा जित हुँदैन ।’

उनले महाधिवेशनको उर्जाले आगामी निर्वाचनमा तीनै तहमा जितेर देखाउने समेत बताएका छन् ।

आन्तरिक प्रतिस्पर्धामा कोही पराजित नहुने र यो पार्टीलाई चलायमान बनाउने प्रक्रियामा सहभागिता मात्र भएको उनले बताएका छन् ।

थापाले आगामी चुनावमा विपक्षी पार्टीहरूलाई पराजित बनाउन महाधिवेशनले बल मिल्ने बताएका छन् ।

कार्यकर्तालाई डोकोमा बोकेर नेता बन्न खोज्ने धृष्ठता नगर्न आग्रह गरेका सभापति थापाले कार्यकर्तालाई नेता चुन्ने स्वविवेकीय अधिकार रहेको बताएका छन् ।

सूर्यविनायक नगरपालिकाका नवनिर्वाचित सभापति निशान ढुंगेलले आफूले सबैलाई मिलाएर अघि बढ्ने प्रतिवद्धता प्रकट गरेका छन् ।

ढुंगेलले चुनावी परिणामपछि उत्तेजना र निराशाका कुरा नगर्न कार्यकर्ताहरूसँग आग्रह गरेका छन् ।

सभापतिमा पराजित रवि राणाले नगर अधिवेशनमा निर्वाचन स्वाभाविक प्रक्रिया भएको बताएका छन् ।

आफू एकतावद्ध भएर अघि बढ्ने बताएका राणाले कुनै पूर्वाग्रह नराखी पार्टीको जिम्मेवारी पूरा गर्ने बताएका छन् ।

ढुंगेलको नेतृत्वमा उप–सभापतिमा रमण कायस्थ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सह–सचिवमा अमिर ढुंगाना र सुरेश केसी विजयी भएका छन् ।

पदाधिकारीसहित सबै सदस्यहरूलाई समेत शनिवार निर्वाचन समितिले पदस्थापन तथा प्रमाण पत्र वितरण गरेको छ ।

Published : Sunday, 2021 October 3, 12:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया