काठमाडौं महानगर कांग्रेसमा रञ्जितको जादु चल्ने, तनाबमा प्रकाशमान–गगन

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको प्रभाव रहेको भनिएको काठमाडौंमा सभापति शेरबहादुर देउवा समूहले जबरजस्त प्रवेश गरेपछि काठमाडौं महानगरको नतिजालाई लिएर विभिन्न अड्कलबाजी भएका छन् ।

काठमाडौंका दुई नगर नागार्जुन र तारकेश्वरमा नेता सिंहका सभापतिहरू पराजित भएपछि त्यसको प्रभाव काठमाडौं महानगरको निर्वाचनमा पर्ने चर्चा भएको छ ।

सभापति देउवा समूहबाट सभापतिमा प्रगतिमान रञ्जितले उम्मेदवारी दिएका छन् । नेता सिंहको समूहबाट नीलकाजी शाक्यले उम्मेदवारी दिएका छन् ।

देउवा समूहका रञ्जितलाई नेता भीमसेनदाश प्रधानको समूहले साथ दिएको छ । नेता सिंहको समूहलाई गगन थापाले साथ दिएका छन् ।

काठमाडौं महानगर कांग्रेसको निर्वाचनलाई देउवा समूहका सभापतिका उम्मेदवार रञ्जित र नेता प्रकाशमान सिंहबीचको प्रतिस्पर्धाका रुपमा लिइएको छ ।

काठमाडौंमा नेता सिंहको दब्दबा रहेको छ । शाक्यलाई सभापतिमा जिताउनका लागि प्रचार प्रसारमा नेता सिंहकी पत्नी एवम् कांग्रेस नेतृ सिर्जना सिंह समेत लागेकी छिन् । नेता सिंहले काठमाडौं महानगरको निर्वाचनलाई कति महत्व दिएका छन् भन्ने कुरा नेतृ सिंह आफै खटिएकोले पनि देखाएको छ ।

देउवा समूहले काठमाडौं कांग्रेसको नेतृत्व यस पटक नेता सिंहको कब्जाबाट हत्याउने प्रयासमा छ । नेता सिंहबाट आजित बनेका नेता कार्यकर्ताले देउवा समूहलाई साथ दिएको काठमाडौं नगरहरूका निर्वाचनको मत परिणामले देखाएको छ ।

नेता गगन थापाले युवाहरूको पक्षमा वकालत गर्दै आएका छन् । युवा भएकै कारण गगनलाई सबैले माया गरेका छन् । तर, गगनले नेता सिंहका ६५ भन्दा धेरै उमेरका सभापतिका उम्मेदवार शाक्यलाई साथ दिएर आलोचित बनेका छन् ।

काठमाडौं महानगरको मतदान आइतबार बिहान राष्ट्रिय सभा गृह प्रदर्शनी मार्गमा हुनेछ ।

Published : Saturday, 2021 October 2, 10:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया