गगन थापाको नगरमा बुढाथोकी सभापतिमा निर्वाचित, टिमभित्रै अन्तर्घात

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको बुढानीलकण्ठ नगर सभापतिमा युवा नेता गगन थापाका समर्थक राजाराम बुढाथोकी निर्वाचित भएका छन् ।

शनिबार भएको मतदानमा बुढाथोकीले १५५ मतसहित विजयी भएका हुन् । गगनका सभापतिका उम्मेदवार बुढाथोकीलाई नेता प्रकाशमान सिंहले पनि समर्थन गरेका थिए ।

नेता रामचन्द्र पौडेल समूहले नगर सभापतिमा उम्मेदवार नपाएपछि युवा नेता गगन थापाका सभापतिका उम्मेदवारलाई समर्थन गरेका थिए ।

काठमाडौं क्षेत्र नं. ४ मा पर्ने यो नगरका प्रतिनिधि सभाका सांसद युवा नेता गगन थापा छन् । गगने बुढाथोकीलाई जिताउन सबै उपाय अपनाएका थिए ।

सभापति शेरबहादुर देउवा निकटका राजुबिक्रम थापा पराजित भएका छन् । राजुबक्रिमले ४८ मत पाएका थिए । राजुबिक्रम थापालाई क्षेत्रीय सभापति राजु श्रेष्ठले पनि समर्थन गरेका थिए ।

सभापति पदका अर्का प्रत्यासी राजन बुढाथोकीले ६८ मत पाएका थिए । राजन बुढाथोकी कतै खुलेका छैनन् ।

देउवा समूहको सभापतिको उम्मेदवारलाई हराउन राजन बुढाथोकीको ठूलो भूमिका रहेको आरोप छ । देउवा समूहभित्रको अन्तरघातीका कारण सभापतिमा थापा पराजित भएको चर्चा छ ।

उप–सभापतिमा सानुकान श्रेष्ठ र शम्भु कार्की निर्वाचित भएका छन् । सचिवमा विजेन्द्र पुडासैनी र विजेन्द्र श्रेष्ठ, सह–सचिवमा कुमार खड्का र निर्मला आचार्य पौडेल निर्वाचित भएका छन् ।

Published : Saturday, 2021 October 2, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया