कैलाश गाउँपालिकाका कम्युनिस्ट अध्यक्षको ‘ग्याङ’को पर्दाफास, ५ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तानसहित ५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । मुक्तान एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

मुक्तानले गाउँपालिकाभित्र विभिन्न आर्थिक अपराध गरेको भनेर आरोप लागेका बेला अख्तियारले एउटा काण्डमा मुद्धा चलाएको छ ।

अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेपछि अध्यक्ष मुक्तानसहितका एमाले नेता र कर्मचारी तथा एमालेका पत्रकारहरूभित्र खैलाबैला भएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा युवा क्षमता विकास तालिम र आधारभूत पत्रकारिता तालिम कार्यक्रम सञ्चालन गर्दा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले छानविन र अनुसन्धान गरेको थियो ।

आधारभूत पत्रकारिता तालिम र युवा क्षमता विकास तालिम सञ्चालन वापत भएको गरेको कामभन्दा बढी २ लाख ६० हजार ९ सय भुक्तानी गरि लिए/दिएको पुष्टि हुन आएको भन्दै अख्तियारले सो कार्यक्रममा देहायका व्यक्तिहरूले भ्रटाचार गरेको ठहरसहित आरोपपत्र दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तान, फिलिंगो मिडियाका सञ्चालक रामकुमार रिजाल, कैलाश गाउँपालिकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी र आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेलविरुद्ध आरोपपत्र दायर गरेको छ । यसरी मिलिजुली गाउँपालिकाको रकममा अनियमितता गर्ने यो गिरोह सबै एमाले हुन् ।

अख्तियारले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसारको कसूरजन्य कार्य भएकोले सोही दफाको प्रावधान बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफा र उप–दफा अनुसारको बिगो असुल र जफत गर्न माग गरेको छ ।

Published : Friday, 2021 October 1, 5:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया