देउवालाई भण्डारीको कुराले मन छोयो, ‘धुन्दुकारी’हरूलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् तरुण विभागका प्रमुख शंकर भण्डारीले सरकारका निकायले कालोबजारी रोक्न नसकेका गुनासाहरू आएको भन्दै नागरिकको समस्याप्रति अनुदार हुने छुट सरकारलाई नरहेको बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका भण्डारीले बिहीबार विज्ञप्ति जारी गरेर मूल्य नियन्त्रण, गणस्तर कायम गर्नेदेखि शान्ति सुरक्षाको सहज वातावरण बनाउन माग गरेका छन् ।

‘सरकारका निकायले कालो बजारी रोक्न, आपूर्ति सहज बनाउन पर्याप्त प्रयास हुन नसकेको आम गुनासो छ’, भण्डारीले भने, ‘नागरिकको समस्याप्रति अनुदार हुने छुट सरकारलाई छैन ।’

‘बजारको अवस्था विश्लेषण गरि अस्वभाविक रुपले वृद्धि भएका उपभोग्य सामग्रीको मूल्य नियन्त्रण गर्ने, गुणतर कायम गर्ने र शान्ति सुरक्षाको सहज वातावरण बनाउन सरकारसँग जोडदार माग गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।

‘चाडपर्व बढेसँगै चोरी र लुटपाटका घटना बढ्दै जान्छन्’, कांग्रेस नेता भण्डारीले भनेका छन्, ‘शान्ति सुरक्षाको अवस्था दुरुस्त राखेर निर्वाध रुपमा चाडपर्व मनाउने र सहर तथा आ–आफ्नो कार्यक्षेत्रबाट घर फर्कने वातावरण सहज बनाइनुपर्छ ।’

स्वास्थ्य मापदण्ड पालना गर्दै घरसम्म पुग्नका लागि यातायातका सधानको सहज व्यवस्थामा समेत सरकारले ध्यान दिनुपर्ने आवश्यक्ता रहेको नेता भण्डारीले बताएका छन् ।

कांग्रेस नेता भण्डारीले भनेका छन्, ‘चाडपर्वको समयमा उपभोग्य वस्तुहरूको माग आकासिने र यही मौका छोपेर अस्वभाविक रुपमा सामानको मूल्य वृद्धि गर्ने प्रयास भएको देखिन्छ ।’

‘सर्वसाधारणको ढाड भाँचिने गरि अत्यावश्यक वस्तुको मूल्य वृद्धि भएको छ । यसको कुनै तर्क र कारण छैन’, नेता भण्डारीले भने, ‘व्यवसायीले यही मौका छोपेर अकुत लाभ लिने प्रयास गरेका छन् । वस्तुको गुणस्तर पनि घटाउने र मूल्य पनि बढाउने गरि गैरकानूनी ढंगबाट दोहोरो लाभ लिन खोजेको देखिन्छ ।’

उनले भने, ‘सरकारले बजार अनुगमन गरेर आपूर्ति सहज बनाउने, कालोबजारी रोक्ने र गुणस्तर कायम गर्दै गलत कार्य गर्नेलाई दण्डित गर्नु आवश्यक छ ।’

दशैँको मुखमा उपभोक्तालाई ठगी गरेर केही व्यापारी र तत्वहरू सक्रिय हुन थालेपछि कांग्रेसको तरुण विभागका प्रमुख समेत रहेका नेता भण्डारीले सरकारलाई कालोबजारी, मूल्य वृद्धिका विषयमा ध्यानाकर्षण गराएका हुन् । भण्डारीको यो सुझावले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सहयोग मिल्नेछ ।

कांग्रेस नेतृत्वको सरकारलाई सुझाव दिन केन्द्रीय नेताहरू नै डराएर थुरुरु भएका बेला नेता भण्डारीले देउवालाई दिएको सुझावले मन छोएको चर्चा छ ।

Published : Thursday, 2021 September 30, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया