ओखलढुंगामा कांग्रेस नेता खतिवडा र सभापति सुनुवार मिल्दा पौडेल समूहको पत्तासाफ

ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाका नगरपालिका र गाउँपालिकाका सभापतिहरूमा शेरबहादुर देउवा निकटको नेतृत्व चयन भएको छ ।

सभापति देउवा निकटका नेताहरू मिलेर जाँदा नेता रामचन्द्र पौडेल समूहको ओखलढुंगामा पत्तासाफ भएको हो । पौडेल समूहले ओखलढुंगामा एउटा पनि नगर र गाउँपालिकाको अध्यक्ष जितेका छैनन् । सबै सभापति देउवा समूहका हुन् ।

कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा र जिल्ला सभापति प्रदीप सुनुवार मिलेर गएकै कारण देउवा समूहले ओखलढुंगामा क्लिनस्वीप गरिदिएको छ ।

नगर र गाउँ अधिवेशनमा खिजदेम्बा, लिखु, चम्पादेवी र मानेभञ्ज्याङ्ग र शुनकोशी गाउँपालिकाको अधिवेशन सर्वसम्मतिमा सम्पन्न भएको छ ।

मानेभञ्ज्याङ गाउँपालिका कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाको गाउँपालिका पर्छ । खतिवडाको परामर्शमा मानेभञ्ज्याङ गाउँपालिकामा सर्वसम्मतिमा कार्यसमिति चयन भएको हो ।

सिद्धिचरण नगरपालिका, चिशंखुगढी गाउँपालिका र मोलुङ गाउँपालिकामा प्रतिस्पर्धा भएको छ । सिद्धिचरण नगरपालिकाको सभापति प्रेमराज गुरुङ निर्वाचित भएका छन् ।

चिशंखुगढी गाउँपालिकाको सभापतिमा गोपालमान थापा, मोलुङ गाउँपालिकाको सभापति गोपीकृष्ण कार्की निर्वाचित भएका छन् । उनीहरू सभापति देउवा निकट मानिन्छन् ।

खिजदेम्बा गाउँपालिकाको सभापतिमा रामकुमार सुनुवार, लिखु गाउँपालिकाको सभापतिमा कुमार सुवेदी, मानेभञ्ज्याङ्ग गाउँपालिकाको सभापतिमा देवबहादुर पुलामी निर्वाचित भएका छन् । उनीहरू पनि सभापति देउवा निकट मानिन्छन् ।

चम्पादेवी गाउँपालिकाका सभापति विष्णु पुलामी र सुनकोशी गाउँपालिकाका सभापति विष्णुबहादुर खड्का कतै पनि खुलेका छैनन् ।

यसअघि ओखलढुंगा जिल्लाका ७५ वटा वडामध्य ७३ वडामा सर्वसहमति र २ वटा वडामा निर्वाचनबाट अधिवेशन सम्पन्न भएको थियो ।

ओखलढुंगा कांग्रेसले ५ वडा स्थानीय तह समेत सर्वसम्मति गराउन सफल भएको जिल्ला निर्वाचन अधिकृत कृतिनाथ शर्माले जानकारी दिएका छन् ।

Published : Tuesday, 2021 September 28, 11:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया