एमसीसीमा धेरै प्रोपोगण्डा भयो, संसदमै बुँदा–बुँदामा बहस गरौँ : कांग्रेस नेता थकाली

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले उमेरलाई लिएर नयाँ र पुरानो पुस्ता भन्ने तर्कप्रति आफ्नो असहमति रहेको बताएका छन् ।

मंगलबार बिहान नेपाली रेडियो नेटवर्कमा अन्तर्वार्ताका क्रममा नेता थकालीले उमेरले भन्दा पनि विचारले नयाँ र पुरानो पुस्ता छुट्टिनुपर्ने बताए । ‘उमेरले नयाँ पुस्ता र पुरानो पुस्ता छुट्याउँदैन’, उनले भने, ‘विचारले राजनीति गर्ने हो ।’

नेता थकालीले राजनीतिमा बिकृति रहेको भन्दै चिन्ता जनाएका छन् । ‘राजनीति गरेर रातारात बिल्डिङ बनाएको पनि देखेका छौँ’, उनले भने, ‘गण्डकीमा मन्त्री बनाउँदा विरोध भएको पनि देखेका छौँ ।’

उनले भने, ‘ब्यापारी र डनहरू मन्त्रीमा हाबी नहोस् । प्रधानमन्त्रीलाई शुभकामना र सुझाव छ ।’

‘सरुवा र बढुवामा आर्थिक चलखेल हुन्छभन्दा दुःख लाग्छ’, उनले भने, ‘यस्ता कुरा सुन्दा इमान्दार राजनीतिज्ञ र कर्मचारीलाई कस्तो हुन्छ होला ?’

झण्डै दुईतिहाइ बहुमत पाउँदा पनि कम्युनिस्ट असफल भएपछि कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर आएको नेता थकालीले बताएका छन् ।

‘कम्युनिस्टले संविधानलाई ट्रयाकभन्दा बाहिर गएकाले त्यसलाई ठाउँमा ल्याउन समय लागेको कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ’, उनले भनेका छन् । उनले विरोध गर्नेभन्दा पनि के कति कारणले मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको हो त्यसका विषयमा ध्यान दिनुपर्ने बताए ।

एमसीसीलाई प्रोपोगण्डा गरेर विरोध भएकोमा नेता थकालीले चिन्ता गर्दै संसदमा एमसीसीका विषयमा गहिरो छलफल हुनुपर्ने बताए । उनले भने, ‘एमसीसीलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले नै संसदमा दर्ता गर्नुभएको हो । सत्ताभन्दा बाहिर जाँदा विरोध गर्ने, सत्तामा रहँदा समर्थन गर्ने । यो त दोहोरो दुईजिब्रे कुरा भयो ।’

‘एमसीसीमा प्रोपोगाण्डा गरिएको छ । भारतलाई गाली गर्दा हामी राष्ट्रवादी हुन्छौँ भन्ने भ्रम खडा गरिएको छ । चीनको सुरक्षालाई थ्रेट गर्दा सम्बन्ध सुधार हुन्छ ? हुँदैन’, उनले भने, ‘एमसीसी बिथोलियो । संसदमा बुँदा–बुँदामा छलफल हुने थियो ।’

‘एमसीसीबारे म मेरो पार्टीको धारणामा अडिग छु । मेरो पार्टीले जे निर्णय गर्छ त्यसलाई मान्नुपर्छ’, थकालीले भने, ‘मेरो पार्टीले गलत निर्णय गरेको रहेछ भने पनि पार्टीभित्रै बहस गर्छु ।’

उनले भने, ‘एमसीसीले सार्वभौम सत्तामा थ्रेट कसरी छ ? मुस्ताङमा अमेरिकी सेना आउँछ भनेर प्रोपोगण्डा गरिएको छ । हामी कोही पनि भ्रम पर्नु हुँदैन । भारत र चीनसँग सुमधुर सम्बन्ध राख्दै जानुपर्छ । विकास नचाहने मानिसहरूले एमसीसीको विरोध गरेका छन् ।’

पूर्वमन्त्री थकालीले ‘एमसीसीको विरोध गर्नेहरूको आयस्रोतको खोजविन गर्नुपर्छ । एमसीसीको विरोध गर्नेहरूको सूचना स्रोतको बारेमा भन्नुपर्छ । जनताले जान्न पाउनुपर्छ । विकास विरोधी काम गर्नु हुँदैन ।’

नेता थकालीले मुस्ताङ कांग्रेसमा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयनहरू गरेको भन्दै खुसी व्यक्त गरेका छन् । उनले मुस्ताङ कांग्रेसका नेता कार्यकर्तालाई बधाइ र शुभकामना समेत दिएका छन् । ‘मुस्ताङमा गुट छैन । हामी सबै कांग्रेस गुट मात्रै छौं’, नेता थकालीले भनेका छन् ।

Published : Tuesday, 2021 September 28, 7:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया