कांग्रेस नेता खतिवडाको जिल्लामा अधिकांश पालिकामा सहमति

ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाका नगरपालिका र गाउँपालिकामा सभापति शेरबहादुर देउवा निकटको नेतृत्व चयन भएको छ ।

शनिबार सम्पन्न नगर/गाउँ अधिवेशनमा खिजदेम्बा, लिखु, चम्पादेवी र मानेभञ्ज्याङ्ग र शुनकोशी गाउँपालिकाको अधिवेशन सर्वसम्मतिमा सम्पन्न भएको छ ।

मा नेभञ्ज्याङ गाउँपालिका कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाको गाउँपालिका पर्छ । खतिवडाको परामर्शमा मानेभञ्ज्याङ गाउँपालिकामा सर्वसम्मतिमा कार्यसमिति चयन भएको हो ।

सिद्धिचरण नगरपालिका, चिशंखुगढी गाउँपालिका र मोलुङ गाउँपालिकामा प्रतिस्पर्धा भएको छ ।

सिद्धिचरण नगरपालिकाको सभापति प्रेमराज गुरुङ निर्वाचित भएका छन् ।

चिशंखुगढी गाउँपालिकाको सभापतिमा गोपालमान थापा, मोलुङ गाउँपालिकाको सभापति गोपीकृष्ण कार्की निर्वाचित भएका छन् । उनीहरू सभापति देउवा निकट मानिन्छन् ।

खिजदेम्बा गाउँपालिकाको सभापतिमा रामकुमार सुनुवार, लिखु गाउँपालिकाको सभापतिमा कुमार सुवेदी, मानेभञ्ज्याङ्ग गाउँपालिकाको सभापतिमा देवबहादुर पुलामी निर्वाचित भएका छन् । उनीहरू पनि सभापति देउवा निकट मानिन्छन् ।

चम्पादेवी गाउँपालिकाका सभापति विष्णु पुलामी र सुनकोशी गाउँपालिकाका सभापति विष्णुबहादुर खड्का कतै पनि खुलेका छैनन् ।

यसअघि ओखलढुंगा जिल्लाका ७५ वटा वडामध्य ७३ वडामा सर्वसहमति र २ वटा वडामा निर्वाचनबाट अधिवेशन सम्पन्न भएको थियो ।

ओखलढुंगा कांग्रेसले ५ वडा स्थानीय तह समेत सर्वसम्मति गराउन सफल भएको जिल्ला निर्वाचन अधिकृत कृतिनाथ शर्माले जानकारी दिएका छन् ।

Published : Monday, 2021 September 27, 12:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया