एनआरएनएको अध्यक्षमा आचार्यले हारेर ‘ह्याट्रिक’ गर्ने, कांग्रेसीहरू रिसाएर फायर

काठमाडौं । नेपाली कांग्रेसको अनौपचारिक समर्थन पाएका कुल आचार्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बनेर ‘ह्याट्रिक’ गर्ने भएका छन् ।

आइतबार काठमाडौंमा आचार्यले तामझामका साथ पत्रकार सम्मेलन गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । अघिल्लो अधिवेशनमा पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका आचार्य नराम्रोसँग पराजित भएका थिए । आचार्यलाई एमालेको समर्थनमा अध्यक्ष पदमा उम्मेदवार बनेका कुमार पन्तले पराजित गरेका थिए ।

अघिल्लो अधिवेशनमा टिम मिलाउन नसक्दा आचार्यले पराजय भोग्नु परेको थियो । यस पटक पनि आचार्यले टिम नमिलाएरै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आचार्यलाई आफ्नै टिमभित्रबाट दोस्रो पटक हराएर ‘ह्याट्रिक’ गराउने अभियानमा रहेको बुझिएको छ ।

आचार्यले २०२१–२०२३ कार्यकालका लागि संघको अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

संघको दशौं विश्वसम्मेलन आगामी अक्टोबरको २३–२५ सम्म काठमाडौंमा हुँदैछ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ ।

हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय एनसीसीहरू निष्कृय छन् । संघका पञ्जीकृत सदस्यहरूको संख्या एक लाखको हाराहारीमा छ ।

आचार्यलाई संघको अध्यक्ष पदमा कांग्रेसले अनौपचारिक रुपमा समर्थन गरेपछि धेरै प्रतिनिधि रहेको अमेरिका र खाडी मुलुकमा असन्तुष्टि बढेको छ । युरोपका केही देशहरूमा पनि आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि कांग्रेस निकटका अधिकांश प्रतिनिधिहरू रिसाएका छन् ।

अमेरिकामा रहेका कांग्रेस निकटका एनआरएनएका प्रतिनिधिहरूले पटक–पटक बेलायतमा बस्दै आएका र अघिल्लो निर्वाचनमा पराजित भएका आचार्यलाई नै अध्यक्ष पदमा सघाएको भनेर आक्रोश बढेको छ ।

गएको अधिवेशनमा आचार्यलाई अमेरिकाका असन्तुष्ट कांग्रेसी प्रतिनिधिहरूले नै हराएका थिए । यस पटक पनि आचार्यका दिनदशा खराब रहेको चर्चा छ ।

Published : Sunday, 2021 September 26, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया