कांग्रेस नेता बस्नेतद्वारा सिन्धुपाल्चोकमा रेकर्ड ब्रेक, कार्यकर्ताहरू चकित

बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेत वडाबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।

सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. १ अन्तर्गत बाह्रबिसे नगरपालिका वडा नं. ४ मा मंगलबार भएको कांग्रेसको वडा अधिवेशनमा बस्नेत क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् ।

बस्नेतको वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू सबै सर्वसम्मत भएका छन् । वडा सभापतिमा शेखरबहादुर भण्डारी सर्वसम्मत चयन भएका छन् । भण्डारीकै नेतृत्वमा कार्यसमिति बनेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य, पदाधिकारी र सभापतिलाई स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । वडाबाटै क्रियाशील सदस्यहरूबाट निर्वाचित भएर आउनुपर्ने मान्यताका साथ बस्नेत वडाबाट क्षेत्रीय प्रतिनिधि भएको कांग्रेसका नवनिर्वाचित वडा सभापति भण्डारीले बताएका छन् ।

केन्द्रीय सदस्य बस्नेत महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बन्ने छन् । साधारण कार्यकर्ता सरह नेता बस्नेत पनि चयन भएर आउनेछन् ।

कांग्रेसको महासमिति बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू पनि वडाबाट प्रतिनिधि बनेर आउनुपर्ने माग उठेको थियो ।

महासमिति बैठकमा कुरा उठे पनि केही केन्द्रीय सदस्यहरूको दवावमा केन्द्रीय कार्यसमिति र सांसदहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था राखिएको थियो ।

वडाबाट क्षेत्रीय प्रतिनिधि हुनेमा कांग्रेसका केन्द्रीय सदस्य बस्नेत पहिलो नेता बनेका छन् । कांग्रेसको ५६ वटा जिल्लामा महाधिवेशन भएको छ । केन्द्रीय सदस्यहरू वडामा प्रतिनिधि बन्ने हिम्मत गरेका छैनन् ।

Published : Tuesday, 2021 September 21, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया