वडा अधिवेशनले रुपन्देही कांग्रेसका कार्यकर्तामा उत्साह थपिएको छ : सचिव खाण

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणले वडा अधिवेशनबाट नेता कार्यकर्ताहरूमा उत्साह थपिएको बताएका छन् ।

रुपन्देहीको सियारी– १ चिल्हियामा सोमबार नवनिर्वाचित क्षेत्रीय प्रतिनिधि र वडा सभापतिसहितको कार्यसमितिलाई बधाइ तथा शुभकामना दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सचिव खाणले कांग्रेसलाई वडा कार्यसमितिले बलियो बनाउन भूमिका खेल्ने बताए ।

उनले वडा अधिवेशनबाट आएका नेताहरूले सहमति र सहकार्यका साथ अगाडि बढ्न सबैलाई समेट्नुपर्ने बताएका छन् ।

‘वडा अधिवेशनबाट आउनुभएका वडा सभापति, क्षेत्रीय प्रतिनिधि र कार्यसमितिले अबको निर्वाचनमा कांग्रेसलाई जिताउनेछ’, उनले भने, ‘क्षेत्रीय प्रतिनिधिहरूले अब उपयुक्त र सक्षम नेतृत्वलाई मतदान गर्नुपर्नेछ ।’

उनले कांग्रेसका नेता कार्यकर्ताहरू मिलेर जाँदा नै सबैभन्दा ठूलो जित हुने बताएका छन् । उनले कम्युनिस्टहरूसँग प्रतिस्पर्धा गर्न पनि कांग्रेसभित्रको एकता अनिर्वाय रहेको भन्दै नेता कार्यकर्ताबीच रहेको तिक्ततालाई अधिवेशनबाट अन्त्य गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागका केन्द्रीय सदस्य विमल ढकाल, कांग्रेसका क्षेत्रीय सचिव सुशील गुरुङ लगायतका स्थानीय नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2021 September 21, 8:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया