दाङको राजपुरमा वनको पैसा सिध्याउनहरूविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको राजपुर गाउँपालिका–७ का तत्कालीन वन उपभोक्ता समूहका अध्यक्ष दीपक घर्तीसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा समूहका तत्कालीन अध्यक्ष दीपक घर्ती, तत्कालीन सचिव नीमा चौधरी र कोषाध्यक्ष पूर्णबहादुर घर्तीसमेतलाई चार लाख बाउन्न हजार दुई सय पैसठ्ठी रुपियाँ बिगो कायम गरि आरोप पत्र दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।

दाङ जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७ स्थित सल्लेरी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरू समेतले समूहको कोषको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो ।

सल्लेरी सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष दीपक घर्ती, कोषाध्यक्ष पूर्णबहादुर घर्ती र सचिव नीमा चौधरीसमेतले सामुदायिक वन विकास कार्यक्रमको मार्गदर्शन, २०७१ को बिधान कार्ययोजना बिपरीत बाटो निर्माण, कुलो, चर्पी निर्माण, होटेलबाँस, खानानास्ता लगायत सम्पूर्ण कार्यक्रमहरूको खर्च बिबरण तथा बिल भरपाईसमेत नदेखाई बदनियतपूर्ण ढंगले रु.४ लाख ५२ हजार २ सय ६५ रुपियाँ खर्च देखाई सार्बजनिक सम्पत्तिको हानिनोक्सानी गरेको अख्तियारले जनाएको छ ।

आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको स–प्रमाण पुष्टि हुन आएको भन्दै चार लाख बाउन्न हजार दुई सय पैसठ्ठी रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ बमोजिम सजाय हुनका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ बमोजिमको उक्त बिगो रकम निजहरुबाट जफत हुन समेत मागदावी लिई आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम सोमबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

Published : Monday, 2021 September 20, 7:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया