देउवाको धैर्यताले कांग्रेसले १६५ को बहुमत पायो : बानियाँ, जुरेलीमा ओलीको हर्कतको भण्डाफोर

जुरेली । नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सबैतिरको क्रियाशील सदस्यताको समस्या समाधान भएको भन्दै देशभरि राम्रो सन्देश गएको बताएका छन् ।

मकवानपुर जिल्लाको बकैया गाउँपालिकाको जुरेलीमा आइतबार आयोजित कांग्रेसको वडा कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै नेता बानियाँले महाधिवेशनको अन्यौलता समाप्त भएको बताए । उनले कांग्रेसको महाधिवेशनमा लाग्न सबैलाई आग्रह गरेका छन् ।

‘देशभरि एउटा सन्देश गएको छ । तल्लो तहबाट, वडाबाट सहमतिका साथ आएका छौँ । कांग्रेसको जग भनेको वडा समिति हो’, नेता बानियाँले भने, ‘कांग्रेसको नेतृत्व सहमति, सहकार्यबाट जान्छन् भन्ने सन्देश वडा अधिवेशनबाट देखिएको छ ।’

नेता बानियाँले एकता र सहकार्यभित्र कांग्रेसको धैर्यता रहेको बताएका छन् । ‘पछिल्लो समयमा सभापति शेरबहादुर देउवाले देखाउनुभएको धैर्यता । २३ सिट जितेको तर, जनताले पत्याएर पपुलर भोट दिएका छन्’, उनले भने, ‘जनतामा जतिसुकै कम्युनिस्ट मिल्दा पनि लोकप्रिय मतको हिसावले ६३ वटा सिट रहेको कांग्रेसले आज १६५ को बहुमत प्राप्त गरेर सरकार र संसदको सत्ता पक्षमा पुग्न सफल भयो ।’

उनले भने, ‘कम्युनिस्टभित्र जुनकिसिमको सर्वहाराको पार्टी भनेर जनतालाई गरिवीमाथि सधैभरि लोभ र आशा देखाएर सत्तामा पुग्ने, जनतालाई सुःख र शान्ति, समृद्धिको कुरा गर्ने, कुराअनुसारको व्यवहार नगर्ने, त्यो व्यवहार नगरेको हुनाले सत्यको लागि आफू–आफूमा लडाइँ लडेको हुनाले पार्टी आज फुटको संघारमा पुग्यो ।’

‘किन पुग्योभन्दा राजनीतिक दम्भको कारणले । बहुमतको दम्भको कारणले केपी ओलीमा पलाएको उदण्डता र घमण्डताले कम्युनिस्ट समाप्त हुने अवस्थामा छन्’, कांग्रेसका नेता बानियाँले भनेका छन् ।

उनले भने, ‘मुलुकमा लामो समयदेखि हिंसा भएको, द्वन्द्वको समाधान गर्दै शान्ति प्रक्रियाबाट पहिलो संविधान सभाबाट संविधान दिन नसकेका माओवादीको साथीहरूलाई समेत कांग्रेसको नेतृत्वमा दोस्रो संविधान सभाबाट संविधान दिएका छौं ।’

‘शान्ति प्रक्रिया कांग्रेसले अगाडि बढाएको हो’, उनले भने, ‘हिंसाको राजनीति बन्द गरेर मान्छेले मान्छे मार्नु हुँदैन भनेर कांग्रेसले शान्ति प्रक्रिया अगाडि बढाएको हो ।’

उनले तत्कालीन पार्टी सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा मुलुकलाई संविधान दिएको स्मरण गरेका छन् । उनले कांग्रेस समृद्धिको यात्रामा जाने बताएका छन् ।

‘सधैभरि जनतालाई झण्डा बोक्ने, ढुंगा हान्ने सिकाउने होइन । जनतालाई कसरी गरिखाने बनाउने ? पुँजीको विकास गरेर कसरी गरिखाने बनाउने ? कांग्रेसका गाउँमा बसेर कसरी काम गरेर जीवनयापन गर्ने ? भन्नेमा केन्द्रित हुन्छ’, उनले भने, ‘आर्थिक रुपमा युवाहरूलाई सक्षम बनाएर अबको पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने गरेर युवाहरूलाई तयार पार्ने हो ।’

कांग्रेस नेता बानियाँले भने, ‘मुलुकलाई आफ्नै ढंगले चलाउने कमल थापाका जस्ता अभिव्यक्ति आए । कम्युनिस्टहरूले व्यवस्थाभित्र छिरेर व्यवस्थामा धोका दिन खोज्ने ।’

‘बेलाबेला बाटो लरबराउने, लोकतन्त्रलाई मान्ने भन्ने तर, लोकतन्त्रलाई खतरामा पार्नेसँग सतर्क रहनुपर्छ’, उनले भनेका छन् ।

‘जनताले बहुमत दिए । हामीले लेखेको संविधानमा पाँच वर्षभित्र संसद विघटन गर्न पाइन्न भन्ने प्रावधान छ’, उनले भने, ‘५ वर्ष अगाडि नै बहुमतको दम्भमा अतिवादी सिद्धान्तले ओलीले दुई पटक संसद विघटन गर्नुभयो ।’

उनले भने, ‘न्यायालयले संविधानको रक्षा गर्न परमादेश नै जारी गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु, दुई दिनभित्रमा शपथ गराउनु, ७ दिनभित्रमा संसद बोलाउनु भनेर अदालतले आदेश गर्नुपर्‍यो ।’

‘जनताले दिएको मतलाई अपमान र अबहेलाना गर्ने कम्युनिस्टलाई अदालतले आदेश गर्नुपरेको छ’, उनले भने, ‘कम्युनिस्ट भनेको जनताको लागि होइन रहेछ । यी दुइटा कम्युनिस्ट मिलेको पदको लागि हो ।’

उनले भने, ‘जनतालाई यो व्यवस्थाप्रति जनतालाई भरोसाभन्दा पनि वितृष्णा बढाउने काम कम्युनिस्टको कारणले भएको छ ।’

‘यो व्यवस्थाको रक्षाको लागि स्वतन्त्र न्यायपालिकाले जुन निर्णय गर्‍यो, त्यो निर्णय र पाँच वर्ष संसदलाई टिकाउनको लागि अध्यादेश ल्याएका हौँ’, उनले भने, ‘अहिले आएर यसो गर्‍यो उसो गर्‍यो भनेर एमालेले भन्छ ।’

‘एमालेबाट आएका माधव नेपाल समूहलाई पार्टी बनाउन । संविधानको रक्षा गर्नका लागि २० प्रतिशतको प्रावधान राखेर हामीले अध्यादेश ल्याएर आएको हो । सहयोग गरेको हो’, उनले भने, ‘नत्र भने मुलुक अस्थिरतामा जाने थियो ।’

‘संसदमा बहुमत भएन भने अस्थिरतामा मुलुक जान्छ भनेर स्थिरता र राजनीतिक स्थायित्वका लागि जनताको हिजो रगत बगेर शान्ति प्रक्रिया पूरा गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नको लागि अध्यादेश जारी गर्नु अनिर्वाय थियो । आवश्यक थियो’, नेता बानियाँले भनेका छन् ।

‘अध्यादेश जनताको लागि जारी गरेको हो’, उनले भने, ‘विकास र समृति रोक्न खोज्नेहरूका विरुद्ध अध्यादेश ल्याएको हो ।’

बकैया गाउँपालिकाको १२ वटै वडामा कांग्रेसको वडा अधिवेशन सर्वसम्मत भएको भन्दै सभापति बानियाँले खुसी व्यक्त गरेको निजी सहयोगी मिलन पुडासैनीले जानकारी दिएका छन् ।

मकवानपुर जिल्लामा १०२ वटा वडामाध्य ८९ वटामा सर्वसम्मत वडा अधिवेशन सम्पन्न भएको छ । १३ वटा वडामा निर्वाचन प्रक्रियाबाट भएको सम्पन्न भएको छ ।

Published : Monday, 2021 September 20, 3:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया