कांग्रेस समक्ष लल्याक लुलुक भयो एमाले, देउवाले आज काम फत्ते गर्ने

काठमाडौं, ४ असोज । एमालेले अवरोध गर्दै आएको प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।

प्रतिनिधि सभाको बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी भएको छ । एमालेले संसदमा अबरोध गरे पनि विनियोजन विधेयकलाई पारित गर्न दिने संकेत गरेको छ ।

एमालेका नेता लालबाबु राउतले प्रतिनिधि सभाको बैठकमा आफूहरूको अबरोध र विरोध कायम रहने बताए ।

‘हामीले बिरोध गर्छौं । आन्दोलनको कार्यक्रम यथावत छ’, उनले भने, ‘एमालेका सांसदले विरोध गर्दा पनि सभामुखले संसद चलाएर विधेयकहरू पास गर्नुभएको उदाहरण छ । विनियोजन विधेयक पास गराउनु भयो भने हाम्रो अबरोध हुँदैन । तर, विरोध कायम रहन्छ ।’

शुक्रवारदेखि सरकारी ढुकुटीबाट रकम खर्चिन नपाएको सरकारले संसदबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका अध्यक्ष केपी ओलीसँग कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत सम्वाद गरेर संसदबाट बजेट पारित गर्ने व्यवस्था मिलाएका छन् ।

एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई १४ जना आफ्ना सांसदलाई कारबाही गरेको सूचना जारी गर्न दवाव दिएर सदन अबरोध गर्दै आएको छ ।

प्रतिनिधि सभा बैठकको बिहान ११ बजे बस्नेछ । सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने छन् ।

विनियोजन विधेयकमाथि सांसद प्रेम सुवालले मात्रै खर्च कटौतीको प्रस्ताव राखेकाले मन्त्रालयगत छलफल सकेर बैठकमा अर्थमन्त्री शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्न लागेका छन् ।

त्यसपछि राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफल गरेर संशोधनका लागि ७२ घण्टाको अवधि शुरु गर्ने तयारी छ ।

विनियोजन विधेयक पारित भएपछि मात्रै राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत भएर सैद्धान्तिक छलफल हुने व्यवस्था छ ।

बैठकमा विनियोजन विधेयकमा सबै मन्त्रालयका लागि विनियोजित बजेट र त्यसका शीर्षकमाथि छलफल गर्ने तयारी छ ।

छलफल सकाएर पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएमा आजै राष्ट्रिय सभामा जानेछ ।

राष्ट्रिय सभाको बैठक मंगलबार बोलाइएको छ । भदौ २३ देखि शुरु भएको प्रतिनिधि सभा बैठकमा अवरोध गर्दै आएको एमालेले आज पनि अवरोध कायमै रहने जनाएको छ ।

Published : Monday, 2021 September 20, 7:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया