कांग्रेसको नेतृत्वमा बनेको संविधान कांग्रेसले नै कार्यान्वयन गर्छ : नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङले संविधान कार्यान्वयनमा सबैले इमान्दारिता देखाउनुपर्ने बताएका छन् ।

संविधान दिवसका अवसरमा नेता गुरुङले कांग्रेसको नेतृत्वमा बनेको संविधानको कार्यान्वयनका लागि इमान्दारिता हुनुपर्ने बताए । संविधान कार्यान्वयन गर्ने सबैभन्दा ठूलो जिम्मेवारी कांग्रेसको रहेको उनले बताए ।

‘कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई रक्षा गर्नुपर्छ’, उनले भने, ‘कांग्रेस आफू पराजित भएर पनि संविधान कार्यान्वयन गरेको छ ।’

सुशील कोइरालाको नेतृत्वमा बनेको संविधानलाई शेरबहादुर देउवाले निर्वाचन गरेर कार्यान्वयन गरेको उनले स्मरण गरेका छन् ।

‘शेरबहादुर देउवा प्रधानमन्त्री बनेका बेला निर्वाचन गरेर संविधान कार्यान्वयन पनि कांग्रेसले गरेको छ’, उनले भने, ‘आगामी दिनमा पनि संविधान कार्यान्वयन गर्ने चुनौती छ ।’

कम्युनिस्टहरूले दुईतिहाइ पाउँदा समेत संविधान कार्यान्वयनमा समस्या देखिएको भन्दै नेता गुरुङले भने, ‘साढे तीन वर्षमा कांग्रेसले देशको नेतृत्व गर्ने मौका पाएको छ । ट्रयाक बाहिर जान थालेको संविधानलाई सहि दिशामा कांग्रेसले लैजान्छ ।’

प्रधानमन्त्री देउवाले साढे तीन वर्षसम्म ट्रयाक बाहिर गएको राजनीतिलाई सहि बाटोमा ल्याउन थालेको बताए ।

Published : Sunday, 2021 September 19, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया