संविधानमा देखिएका कमीकमजोरीमा संशोधनको खाँचो : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले संविधान राज्य सञ्चालनको जीवन्त दस्तावेज रहेको भन्दै संविधान दिवसका अवसरमा शुभकामना दिएका छन् ।

डा.महतले आइतबार विज्ञप्ति जारी गरेर संविधानमा देखिएका विरोधाभाष र अभ्यासका क्रममा देखिएका कमीकमजोरीहरूलाई संशोधन गरि कार्यान्वयन गर्न कांग्रेस तत्पर रहेको बताएका छन् ।

‘विभिन्न विचाराधारा भएका संविधानसभा सदस्यहरूबीच सहमति नजुट्दा यो संविधानमा कतिपय विरोधाभाष निहीत छन्’, उनले भने, ‘यी विरोधाभाष र अभ्यासका क्रममा देखिएका कमीकमजोरीहरूलाई संशोधन गरी संविधानलाई समायानुकूल बनाउनुपर्ने खाँचो छ ।’

उनले भने, ‘संविधानलाई यसको अक्षर र भावना अनुरुप कार्यान्वयन गर्न नेपाली कांग्रेस सबै राजनीतिक दल र राज्यका निकायहरूको जिम्मेवारीपूर्ण सहभागिताको अपेक्षा गर्दछ ।’

सह–महामन्त्री डा.महतले जननिर्वाचित प्रतिनिधिहरूको संविधानसभाले संविधान निर्माण गर्ने विषय २००७ सालको जनक्रान्तिको आह्वानमा वीपी कोइरालाले उठाएको बताएका छन् ।

‘आफू शासित हुने व्यवस्थाको मूल कानून समेत जनप्रतिनिधिहरुले निर्माण गर्ने पद्धति लोकतान्त्रिक शासनको सर्वोत्तम अभ्यास हो’, उनले भने, ‘झण्डै साढे सात दशक लामो लोकतान्त्रिक संघर्षपछि नेपाली नागरिकहरूले हासिल गरेको यस उपलब्धिले नेपालको राजनीतिक र संवैधानिक विवादको अन्त्य गरेको छ ।’

उनले भने, ‘अब यसै संविधानका माध्यमबाट पर्याप्त भौतिक पूर्वाधारको निर्माण तथा आर्थिक र सामाजिक क्षेत्रको दुततर विकास गर्दै नेपाली नागरिकहरूको समग्र जीवनको स्तरोन्नति गरी नेपाललाई विश्वका विकसित मुलुकहरूको समकक्षमा पु¥याउन परेको छ ।’

डा.महतले भनेका छन्, ‘कांग्रेसको नेतृत्वमा संविधानसभाबाट संविधान निर्माण गरी जारी भएको यस ऐतिहासिक दिवसमा संविधानका हरेक विषयमा सहमति कायम गर्न अहोरात्र खट्नुहुने आदरणीय नेतागण, संविधान निर्माणमा प्रत्यक्ष सहभागी हुनुभएका संविधानसभा सदस्य, संविधानको प्रस्तावनादेखि सबै विषयमा आफ्नो अमूल्य सुझाव दिनुहुने समस्त नेपाली नागरिकहरुको योगदानको पनि स्मरण गर्न चाहन्छु ।’

‘संविधानलाई अभ्यास गर्ने क्रममा अझ बढी सहभागितामूलक र सर्वस्वीकार्य बनाउनका लागि नेपाली कांग्रेसकै नेतृत्वमा बनेको सरकारले गरेको प्रयासको पनि सराहना गर्न चाहन्छु’, उनले भनेका छन् ।

‘ऐतिहासिक अवसरमा नागरिक स्वतन्त्रता, संघीयता, गणतन्त्र र समावेशितासहितको लोकतान्त्रिक व्यवस्था स्थापना गर्न आफ्नो जीवन उत्सर्ग गर्नुहुने समस्त शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु’, कांग्रेसका सह–महामन्त्री डा.महतले भनेका छन् ।

Published : Sunday, 2021 September 19, 2:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया