किशुनजीलाई नेपाल रत्न प्रदान गरेपछि कांग्रेसका खतिवडाले दिए सरकारलाई धन्यावाद

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सरकारद्वारा संविधान दिवसका अवसरमा प्रदान गरिएको मानपदवी विभूषणको स्वागत गरेका छन् ।

रिपब्लिका दैनिकसँग आइतबार कुरा गर्दै सरकारले विभूषण नेपाल रत्नबाट पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (मरणोपरान्त) लाई दिने निर्णय भएको भन्दै खतिवडाले स्वागत गरेका हुन् ।

भट्टराई कांग्रेसका पूर्वसभापति पनि हुन् । गतवर्ष आँखा विशेषज्ञ डा. सन्दुक रुइतले सर्वश्रेष्ठ सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम) पदक पाएका थिए ।

राष्ट्रगौरवको पदक कांग्रेसका नेता सुवर्णशमशेर राणा (मरणोपरान्त) र नेकपा एसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाएका छन् ।

सरकारले महाउज्ज्वल राष्ट्रदीप ६ जनालाई प्रदान गरिएकोछ । यो पदक प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र वामपन्थी नेता मोहनचन्द्र अधिकारीका साथै मरणोपरान्ततर्फ वामपन्थी नेता तुल्सीलाल अमात्य, मंगलादेवी सिंह, दुर्गानन्द झा र स्वरसम्राट नारायण गोपाललाई दिइएको छ ।

मंगलादेवी कांग्रेस नेता गणेशमानसिंहकी धर्मपत्नी हुन् । दुर्गानन्द झा पञ्चायतकालमा राजा महेन्द्रलाई बम हान्ने व्यक्ति हुन् ।

एमालेको राजनीतिबाट निष्क्रिय वामपन्थी नेता प्रदीप नेपाल, माओवादी केन्द्रका नेता तिलक परियार, स्वर्गीय पोस्टबहादुर बोगटी, कांग्रेसका तत्कालीन नेताहरू मार्सल जुलुम शाक्य, चक्रप्रसाद बाँस्तोला र पीएल सिंहलाई पनि विभूषण दिने निर्णय सरकारले गरेको भन्दै खतिवडाले सरकारको निर्णयको प्रशंसा गरेका छन् ।

बिक्रम संवत २००७ सालको प्रजातन्त्र स्थापनामा योगदान पु¥याउने त्यसबेलाकी मन्त्री द्वारिकादेवी ठकुरानी, सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, अनिल सिन्हा र तेजबहादुर केसीलाई पनि विभूषण दिने निर्णय सरकारले गरेको भन्दै खतिवडाले स्वागत गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध बहस गरेका पाका कानुनविद् कृष्णप्रसाद भण्डारी र सबैभन्दा कान्छा अधिवक्ता सुलभ खरेलसहित वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर दाहाल, मुक्तिनारायण प्रधान, मिथिलेशकुमार सिंह, रमनकुमार श्रेष्ठ पनि विभूषण पाउनेमा परेका छन् ।

प्रधानसेनापति प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरीका डीआईजी राजु अर्यालले पनि पदक एका छन् ।

सेफ सन्तोष साह, बेवारिस शव व्यवस्थापनमा क्रियाशील सपना रोका मगर, नृत्यांगना तेरिया फौजा मगर, २०६३ माघ ५ मा मधेस आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागी ज्यान गुमाएकाहरूले पनि विभूषण पाएका छन् ।

क्रिकेट र फुटबल टोलीका कप्तान क्रमशः ज्ञानेन्द्र मल्ल र किरण चेम्जोङ, इतिहासविद् महेशराज पन्त, गीतकार कालीप्रसाद रिजाल, रेडियो नेपालकी पहिलो गायिका रानुदेवी अधिकारी, भजनशिरोमणि भक्तराज आचार्य, नायिका गौरी मल्ल, केकी अधिकारी, गायिका विष्णु माझी, गायक प्रकाश सपुत, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छालगायतले पनि पदक पाएका छन् ।

Published : Sunday, 2021 September 19, 12:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया