दाङ कांग्रेसभित्र एकताको सन्देश दिनुपर्छ, त्यसमै हाम्रो जित हुन्छ : नेता खनाल

घोराही । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले १४औँ महाधिवेशनलाई सहमति, सहकार्य र मेलमिलापको नीतिलाई अनुसरण गरेर सम्पन्न गर्नुपर्ने बताएका छन् ।

दाङको घोराही उप–महानगरपालिका– १५ मा शनिबार आयोजित कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले महाधिवेशनबाट कांग्रेस झन् सुदृढ बनेर अगाडि बढ्ने बताए । उनले महाधिवेशनमा मिलेर जाँदा नै कांग्रेस बलियो हुने बताए ।

दाङ कांग्रेसभित्र नेताहरूबीच पछिल्लो समय देखिएको एकताको सन्देशलाई झन् बलियो बनाउनुपर्ने आवश्यक्ता रहेको युवा नेता खनालले बताएका छन् ।

‘अरु बेला जे जस्ता प्रतिस्पर्धा र कटुता भएपनि महाधिवेशनका बेला हामीले एकताको सन्देश दिन सक्नुपर्छ’, उनले भने, ‘लोकतान्त्रक संस्कार र वीपी कोइराला, गणेशमान सिंह, शुवर्णशम्शेर राणा, किशुनजीले देखाउनु भएको मार्गलाई पनि अनुशरण गर्नुपर्छ ।’

नेता खनालले महाधिवेशनमा असल नेता र नेतृत्व ल्याउनुपर्ने बताउँदै कांग्रेसका प्रतिनिधिहरूले विशेष ध्यान दिन अनुरोध गरेका छन् ।

कांग्रेस नेता खनालले वडा अधिवेशनबाट पार्टीमा युवाहरूको राम्रो उपस्थिति देखिएको बताएका छन् । उनले अग्रज नेताहरूलाई सम्मान गरेर जानुपर्ने समेत बताएका छन् ।

‘अग्रजलाई सम्मान र युवाहरूलाई स्थान दिएर जाँदा कांग्रेस बलियो हुनेछ’, उनले भने, ‘कांग्रेसमा सबैलाई समान व्यवहार गर्नुपर्छ ।’

Published : Saturday, 2021 September 18, 11:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया