सरकारलाई अहिले नै गाली गर्ने बेला आएको छैन, सबै दोषी ओली : कांग्रेस नेता प्रधान

काठमाडौं । नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको अधिनायकवाद र अराजकशैलीका कारण मुलुकमा राजनीतिक अस्थिरता निम्तिएको आरोप लगाएका छन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा पूर्वमन्त्री समेत रहेका नेता प्रधानले ओलीले दुईतिहाइको बहुमत पाउँदा समेत सरकार चलाउन नसकेको बताए । ओलीको बेथितिका कारण साढे तीन वर्षमा कांग्रेसलाई सत्ताको चिठ्ठा परेको बताए ।

उनले संसद् विघटन गर्ने र संविधान मिच्ने काम ओलीले गरेको भन्दै त्यसलाई कांग्रेस नेतृत्वको सरकारले सहि ट्रयाकमा ल्याउने काम गरिरहेको बताए ।

सरकारको अहिले नै मूल्यांकन गर्न नहुने भन्दै कांग्रेस नेता प्रधानले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार कांग्रेसको एकलौटी सरकार नभएको बताए ।

उनले गठबन्धनमा आवद्ध दलहरूका कारण सरकारलाई पूर्णता दिन ढिलाई भैरहेको बताएका छन् । ‘यो सरकार गठन भएको दुई महिना प्लस भयो’, उनले भने, ‘अहिले नै सरकारको मूल्यांकन गर्न मिल्दैन् ।’

उनले एमसीसीका लागि राष्ट्रिय सहमित आवश्यक रहेको बताएका छन् । ‘केपी ओलीले संसदमा एमसीसी पास गर्न सभामुखलाई धम्की दिने ? आज प्रतिपक्षमा हुँदा भूमिका फरक छ भनेर बोल्ने ?’, प्रश्न गर्दै प्रधानले भने, ‘ओलीको भूमिका हेर्नुहोस् न ? उहाँको पार्टी कांग्रेस र प्रचण्डले फुटाएको हो र ? उहाँकै कारणले फुटेको हो ।’

उनले भने, ‘सुरुमा त हाम्रो सभापतिजीको ओलीसँग सहकार्य थियो । चुनावमा जाँदा कांग्रेसलाई फाइदा हुन्छ भनेर । पछि हामी संसद् विघटनविरुद्ध आन्दोलनमा होमियौं, संविधान बचाउने जिम्मा कांग्रेसको काँधमा छ ।’

कांग्रेस नेता प्रधानले गालीगलौजको राजनीति नगर्न पनि आग्रह गरेका छन् । उनले सरकारले केही दिनमै पूर्णता पाउने बताएका छन् ।

Published : Saturday, 2021 September 18, 10:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया