गणेशमान सिंहले देखाउनु भएको त्याग र निष्ठाको बाटो कठिन छ, असंभव छैन : गृहमन्त्री खाण

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाणले सर्वमान्य नेता एवम् लौह पुरुष स्व.गणेशमान सिंहले देखाएको मार्गलाई कांग्रेसका हरेक नेता कार्यकर्ताले अनुसरण गर्नुपर्ने बताएका छन् ।

स्व.गणेशमान सिंहको २४औँ स्मृति दिवसका अवसरमा नेता खाणले स्व.गणेशमान सिंहले देखाएको बाटोमा हिँड्न कठिन रहे पनि असंभव नरहेको बताए ।

‘त्यो कठिन समयमा गणेशमान सिंहले प्रजातन्त्रका लागि गर्नुभएको योगदानलाई कांग्रेसका नेता कार्यकर्ताले भुल्नु हुँदैन’, उनले भने, ‘अहिले पनि गणेशमान सिंहज्यूले देखाउनुभएको निष्ठा, इमान्दारिताको राजनीतिलाई अनुसरण गर्नुपर्छ ।’

गृहमन्त्री खाणले भने, ‘कांग्रेसले अंगीकार गरेको आदर्श, सिद्धान्त, मूल्य, मान्यतालाई शिरोपर गरी गणेशमान सिंहले प्रजातन्त्रका लागि जीवनभरि गर्नुभएको त्याग, तपस्या र कठिन संघर्ष तथा निःस्वार्थभावलाई हामी सबैले अनुसरण गर्नुपर्छ ।’

‘प्रजातन्त्रको रक्षार्थ गर्नुभएको खबरदारीले नेपाली कांग्रेसका सबै तहका नेता कार्यकर्तालाई गणेशमान सिंहले सधैभरि प्रेरित गरिरहने विश्वास मैले लिएको छु’, खाणले भनेका छन् ।

२०४६ सालको संयुक्त जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिका लागि गरेको त्याग, तपस्या र कठोर संघर्षले आन्दोलन सफल भएको खाणले स्मरण गरेका छन् ।

उनले भने, ‘जनअधिकार प्राप्ति र संरक्षणका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभएका श्रद्धेय नेता सिंहको योगदानको स्मरणले २०६२/६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै नेपाली समाजलाई सुःख र समृद्धिको मार्गमा लैजान सबै राजनीतिक दलका नेताहरूलाई प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु ।’

Published : Saturday, 2021 September 18, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया