गणेशमान सिंह जस्तो सर्वमान्य नेता बन्न सिकौँ : डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले सर्वमान्य नेता एवम् लौह पुरुष स्व.गणेशमान सिंहको योगदानको चर्चा गर्दै स्मरण गरेका छन् ।

डा.महतले शनिबार विज्ञप्ति जारी गरेर स्व.गणेशमान सिंहले प्रजातन्त्रका लागि दिएको योगदानको चर्चा गरेका हुन् ।

स्व.गणेशमान सिंहको २४औं स्मृति दिवसको अवसरमा डा.महतले श्रद्धासुमन अर्पण गरेका छन् ।

‘कांग्रेसले अंगीकार गरेको आदर्श, सिद्धान्त, मूल्य, मान्यतालाई शिरोपर गरी उहाँले लोकतन्त्रका लागि जीवनभर गर्नुभएको त्याग, तपस्या र कठिन संघर्ष तथा निःस्वार्थभावले लोकतन्त्रको रक्षार्थ गर्नुभएको खबरदारीले नेपाली कांग्रेसका सबै तहका नेता एवम् कार्यकर्ताहरूलाई सधैभरि प्रेरित गरिरहने विश्वास मैले लिएको छु’, डा.महतले भनेका छन् ।

‘२०४६ सालको संयुक्त जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहले लोकतन्त्र प्राप्तिका लागि गर्नुभएको त्याग, तपस्या र कठोर संघर्षले सो आन्दोलनका सहयात्री दलका नेता तथा कार्यकर्ताहरुलाई पनि लोकतन्त्रप्रति संवेदनशील रहदै यसको संरक्षण र संबर्धनमा लाग्न उत्प्रेरित गर्ने मेरो विश्वास छ’, सह–महामन्त्री डा.महतले भनेका छन् ।

उनले भने, ‘जनअधिकार प्राप्ति र संरक्षणका लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभएका श्रद्धेय नेता सिंहको योगदानको स्मरणले २०६२/६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै नेपाली समाजलाई सुख र समृद्धिको मार्गमा लैजान सबै राजनीतिक दलका नेताहरूलाई प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दछु ।’

कांग्रेसका नेता कार्यकर्ताले शनिबार संस्थापक नेता स्व.गणेशमान सिंहको २४औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाएका छन् ।

Published : Saturday, 2021 September 18, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया