पोखराको जलारी बस्ती कांग्रेसमा प्रवेश

पोखरा । पोखराको एउटा गाउँका अधिकांश घरपरिवारहरू विभिन्न राजनीतिक दल परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा पोखरा महानगरपालिका– १८ खपौदीको जलारी बस्तीका अधिकांश घरपरिवारहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेसले नै जनतालाई सहयोग गर्नेभन्दै उनीहरू आफू आवद्ध रहेका विभिन्न राजनीतिक दलहरू परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको जनाएका छन् ।

जलारी बस्तीमा ९३ घरपरिवार छन् । दुई चरणमा गरेर तीमध्ये अधिकांश घरपरिवारहरू कांग्रेस प्रवेश गरेका छन् ।

कांग्रेस नेता शुक्रराज शर्मा, कास्की कांग्रेसका सभापति कृष्ण केसी, उप–सभापति आइबहादुर गुरुङ, सचिव देवेन्द्र रानाभाट, पोखरा महानगरका सभापति बजिरमान श्रेष्ठले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

नेता शर्माले प्रजातन्त्रको जगमा उभिएकाले कांग्रेसले मात्रै सबैको सम्मान गर्ने बताए । कास्की कांग्रेस केसीले उत्साहपूर्वक कांग्रेस प्रवेश गर्नेहरूलाई निराश नबनाउने बताएका छन् ।

पोखरा महानगरपालिका– १८ का कांग्रेसका वडा सभापति शिव तिमिल्सिनाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला सदस्य कृष्ण तिमिल्सिना, आमन्त्रित जिल्ला सदस्य आशबहादुर गुरुङ, नेतृ माया बराल, नेता सूर्य खड्का, इकाई उप–सभापति नारायण खड्का र सचिव डिल्लीराम तिमिल्सिनाले कांग्रेसले नै देशको विकास र जनताको आवाजलाई सुन्ने बताएका थिए ।

Published : Saturday, 2021 September 18, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया