दुईतिहाइ पाउँदा पनि कम्युनिस्ट भागे, देश बनाउने दायित्व देउवाको काँधमा : शाह

कृष्णनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले १४औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा जिताउन अपील गरेका छन् ।

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा नेपाल तरुण दल र नेपाल विद्यार्थी संघद्वारा शुक्रबार आयोजित बृहत कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता शाहले पार्टीको नेतृत्वमा देउवालाई एक पटकका लागि सहयोग गर्नुपर्ने बताए ।

दुईतिहाइको बहुमत पाएका कम्युनिस्टले देशलाई चलाउन नसकेर साढे तीन वर्षमा बीच बाटोमा लगेर छाडेको अवस्थामा सभापति देउवाले मुलुकलाई सहि बाटोतर्फ लगेको भन्दै सकिन्छ भने कांग्रेसको सभापतिमा देउवालाई सबैले छाडेर सहयोग गर्नुपर्ने बताए ।

‘कांग्रेस आफू पराजित भएर पनि देश र जनताको पक्षमा काम गर्छ’, उनले भने, ‘कम्युनिस्ट भनेका भगौडा हुन् । असक्षम भनेका कम्युनिस्ट हुन् । कांग्रेसले आफ्नो जिम्मेवारीलाई राम्रोसँग बुझेको छ ।’

उनले भने, ‘शेरबहादुर देउवालाई सभापति जिताउने योजनाका साथ म मेरो अभियानमा लागेको छ । सबैले सहयोग गरौँ ।’

युवा नेता शाहले महाधिवेशनमा आफू पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए । उनले लुम्बिनी प्रदेशबाट मधेशी आरक्षणमा केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने योजना बनाएको बताए ।

कांग्रेस निर्वाचनमा पराजित हुँदा समेत जनतामा कांग्रेसप्रति विश्वास यथावत रहेको भन्दै नेता शाहले कांग्रेसले देश र जनतालाई सहि मार्गमा लैजाने बताए । उनले कांग्रेस एक मात्र लोकतान्त्रिक पार्टी रहेको बताए ।

उनले कांग्रेसले कम्युनिस्टले जस्तो खोक्रो राष्ट्रवाद नदेखाउने बताए । ‘कांग्रेसले जनतालाई कहिल्यै पनि झुक्काउन जानेको छैन’, नेता शाहले भने, ‘कांग्रेसको नेतृत्वमा देश रह्यो भने विकास हुन्छ । जनताले राहत पाउँछन् ।’

Published : Friday, 2021 September 17, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया