गंगा चौधरीको चरित्रमाथि खेलवाड गर्ने ५ वटा अनलाइन बन्द, बाँकीसँग स्पष्टीकरण

काठमाडौं । प्रेस काउन्सिल नेपालले एमालेबाट प्रतिनिधि सभाकी सांसद गंगा चौधरी सत्गवाँविरुद्ध अनर्गल समाचार लेखेर व्यक्तिरुपमा चरित्र हत्या गर्ने ५ वटा अनलाइनहरूलाई नेपालमा बन्द गरिदिएको छ ।

प्रेस काउन्सिलका उप–प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी रामशरण बोहराले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएर काउन्सिलमा दर्ता नरहेका ५ वटा अनलाइनहरूलाई नेपालमा प्रकाशन र प्रशारण नहुने व्यस्था मिलाउन आग्रह गरेका छन् ।

मलाय खबर, अनलाइन न्युज होस्ट, समाचारको डोको, मिडियो ग्यालेरी नेपाल र ईपूर्वेली पोस्टलाई काउन्सिलले बन्द गर्न पत्राचार गरेको पत्रमा उल्लेख छ ।

ती नलाइनहरूले एमालेकी सांसद चौधरीविरुद्ध ‘सांसद गंगा चौधरीको जीवनलीला, श्रीमानलाई पिए बनाएर सौतालाई दास बनाएको खुलासा’ शीर्षकमा झुठो र तथ्यहीन समाचार प्रकाशन गरेका थिए ।

तथ्यहीन समाचार लेखेर आफ्नो चरित्र हत्या गरेको भन्दै सांसद चौधरीले सबै अनलाइनहरूविरुद्ध कारबाहीको माग गरेर प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी थिइन् । दर्ता भएका अनलाइनहरूलाई काउन्सिलले स्पष्टीकरण सोधेको छ ।

दर्ता नभएका अनलाइनहरूलाई नेपालमा नखुल्ने गरेर बन्द गराउन दूरसञ्चार प्राधिकरणमा लेखेर पठाएको छ ।

Published : Friday, 2021 September 17, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया