यी हुन् उत्कृष्ट अनुसन्धान गर्ने प्रहरीका ५ हिरोहरू, पाए नगद पुरस्कार

काठमाडौं । नेपाल प्रहरीले संखुवासभा जिल्लामा ६ जनाको सामूहिक हत्या भएको घटनाको सफल अनुसन्धान गर्ने ५ जना प्रहरी कर्मचारीहरूलाई नगदसहित पुरस्कृत गरेको छ ।

मादी गाउँपालिका–१ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदार, निष्ठाकासाथ प्रशंसनीय कार्य गर्ने ५ जना प्रहरी कर्मचारीहरू नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको हेडक्वाटरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक अरूण कुमार विसीसहित रहेका छन् ।

पुरस्कृत हुनेहरूमा नेपाल प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक भीमबहादुर दाहाल, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी निरीक्षक मणिराम थापा र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसन्धान शाखाका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ रहेका छन् ।

अपराध अनुसन्धानमा प्रशंसनीय एवं उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कृत गरिँदा अन्य प्रहरी कर्मचारीहरूको कार्य सम्पादनस्तरमा समेत सकारात्मक प्रभाव पर्न गई प्रहरी मनोबल उच्च रहने विषयलाई दृष्टिगत गरी उनीहरूले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप नगदसहित पुरस्कृत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (क) बमोजिम अभिलेखमा जनिने गरी प्रहरी प्रधान कार्यालयले उनीहरूलाई बिहीबार नगद पुरस्कारद्वारा पुरस्कृत गरेको हो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, नेपाल प्रहरी प्रदेश कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय संखुवासभा समेतले उक्त घटनाको सफल अनुसन्धानमा इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गर्ने आ–आफ्ना कार्यालय मातहतका प्रहरी कर्मचारीहरूलाई समेत पुरस्कृत गरेका छन् ।

Published : Thursday, 2021 September 16, 11:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया