भारतीय राजदूतावासमा अमृत महोत्सव

काठमाडौं । नेपालका लागि भारतीय राजदूतावास, काठमाडौंले ‘आजादीका अमृत महोत्सव’ कार्यक्रम धुमधामका साथ मनाउने जनाएको छ ।

महोत्सव भदौ २९ देखि असोज १२ गतेसम्म कार्यक्रम चल्नेछ । भदौ २९ गते आयोजना गरिएको ‘भारत स्वतन्त्र भएको ७५ वर्षमा हिन्दी भाषाले गरेको प्रगति’ विषायक कार्यक्रम शुरु भएको छ ।

पाक्षिक हिन्दी कार्यक्रमलाई भारत र विदेशमा हिन्दी दिवसको रुपमा मनाउने गरिन्छ । कार्यक्रममा भारत र नेपालका ३२ जना हिन्दी भाषा विज्ञको सहभागिता थियो ।

भारतको आगरास्थित केन्द्रीय हिन्दी संस्थानका उपाध्यक्ष अनिल शर्मा प्रमुख अतिथिका रुपमा उपस्थित रहेका थिए । भारतका हिन्दी भाषा विज्ञ डा.विजयकुमार मलहोत्राको पनि सहभागिता रहेको थियो ।

नेपालबाट त्रिभुवन विश्वविद्यालय हिन्दी विभागका प्रमुख डा.सञ्जित बर्मा र दिग्गज हिन्दी साहित्यकार डा.रामदयाल राकेशको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।

सहभागीहरूले हिन्दी भाषाको प्रयोगलाई नेपालमा र विश्वव्यापी रुपमा कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्नेबारे आ–आफ्ना विचार प्रस्तुत गरेका थिए ।

संस्कृत, हिन्दी र नेपाली भाषा परिपूर्ण भएको उल्लेख गर्दै भाषा विज्ञहरूले यी भाषाहरूको सांस्कृतिक एवम् ऐतिहासिक पृष्ठभूमि एउटै भएकाले भाषाहरूबीच अनोन्याश्रित सम्बन्ध रहेको चर्चा गरेका छन् ।

भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री डा.एस जयशंकरले दिएको सन्देश पनि प्रस्तुत गरिएको थियो । दूतावासले असोज १२ सम्म श्रृंखलाबद्ध रुपमा विभिन्न कार्यक्रम र प्रतियोगिताको आयोजना गर्नेछ ।

दूतावासमा कार्यरत भारतीय अधिकारीले राजभाषा प्रतिज्ञालिई हिन्दीलाई आधिकारिक भाषाको रुपमा संरक्षण र प्रवर्द्घन गर्ने प्रतिबद्घता व्यक्त गरेका छन् ।

सन् १९४९ सेप्टेम्बर १४ मा भारतको संविधान सभाले हिन्दी भाषालाई भारतको आधिकारिक भाषाको रुपमा स्थापित गरेको ऐतिहासिक दिनको सम्झना गर्न प्रत्येक वर्ष भारतभर र विदेशमा हिन्दी दिवस मनाउने गरिन्छ ।

Published : Thursday, 2021 September 16, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया