पर्वत कांग्रेसको सभापतिमा युवा नेता मल्लको उम्मेदवारी, उत्साहित बने कार्यकर्ता

लामाखेत । यामबहादुर मल्ल ‘रामकृष्ण’ नेपाली कांग्रेस पर्वतका कोषाध्यक्ष एवम् जलजला गाउँपालिकाका अध्यक्ष हुन् ।

उनी व्यवसायिक र राजनीतिक क्षेत्रमा सफल व्यक्तिका रूपमा चिनिन्छन् । मानव सेवा र सामाजिक विकासमा स्वार्थरहित भएर उनले महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

पछिल्लो समयमा विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीविरूद्धको अभियानमा समेत अहोरात्र खट्नुका साथै व्यक्तिगत खर्चमै लाखौंको स्वास्थ्य सामग्री खरिद गरि जिल्लाभरि वितरण गर्ने उनी एक्ला जनप्रतिनिधि हुन् ।

सामाजिक क्षेत्रमा मात्रै नभएर राजनीतिक क्षेत्रमा समेत उनको उल्लेख्य योगदान र लगानी छ ।

कांग्रेसको राजनीतिमा पकड बनाउँदै गरेका नेताका रूपमा आफ्नो सशक्त परिचय बनाएका मल्लको राजनीतिक पहुँच पर्वत जिल्लामा मात्रै नभएर प्रदेश र केन्द्रमा समेत छ ।

कांग्रेसको १४औँ महाधिवेशनमा जिल्ला नेतृत्वका लागि सभापतिको आकांक्षी बनेका मल्लको उम्मेदवारी पछिल्लो समय निकै पेचिलो रूपमा अघि बढेको छ । केही प्रतिस्पर्धीहरूले राजनीतिमा उनलाई छेक्न केही भ्रमपूर्ण प्रचारबाजी समेत गरेको पाइएको छ ।

निडर, हक्की र सहयोगी मनका धनी मल्ल कार्यकर्ताको बीचमा असाध्यै लोकप्रिय छन् । मल्लले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेपछि कांग्रेसका कार्यकर्ताहरू उत्साहित बनेका छन् ।

सामान्य परिवारबाट राजनीतिमा आएका मल्ल जिल्ला सभापति भएमा पार्टी र संगठनलाई वडातहसम्म बलियो बनाउने र आगामी आम निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने उनको उद्देश्य छ ।

उनले आफू सभापति भएमा आगामी पाँच वर्षसम्म कुनैपनि लाभको पद नलिने बताउँदै आएका छन् ।

पार्टीका अग्रज नेताहरूको अनुभव, समकालीन नेताहरूको जाँगर र उत्साह र नयाँ पुस्ताको भरोसालाई समायोजन गरेर गुटरहित र एकतावद्ध कांग्रेस बनाउने उनको सपना छ ।

मल्ल पार्टीको संस्थापन पक्षसँग नजिक छन् । तर, उनलाई रामचन्द्र पौडेल समूहले पनि सहयोग गर्ने चर्चा पर्वतमा छ ।

पार्टीको कोषाध्यक्ष भएर संगठनको अनुभव र गाउँपालिकाको अध्यक्ष भएर जनप्रतिनिधिको अनुभव संगालेका मल्ल कांग्रेस पार्टीको सभापति बनेमा जिल्लाका अन्य राजनीतिक शक्तिहरूलाई पनि गतिलो जवाफ हुने विश्लेषकहरूको तर्क छ ।

Published : Tuesday, 2021 September 14, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया