पौडेलले मुख सम्हाल्न सकेनन्, देउवाविरुद्ध दिए आपत्तिजनक अभिव्यक्ति

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका कार्यक्रमहरू चलिरहेका बेला नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाविरुद्ध आपत्तिजनक अभिव्यक्तिहरू दिएका छन् ।

सोमबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले महाधिवेशनलाई प्रभावित तुल्याउने गरेर अभिव्यक्ति दिएका हुन् ।

पौडेलले प्रधानमन्त्री समेत रहेका सभापति देउवालाई सत्ता र शक्तिको दुरूपयोग गरेर पार्टी कब्जा गर्ने दुस्साहस गरिरहेको आरोप लगाए ।

नेता पौडेलले सभापति देउवाले सत्ता र शक्तिको दुरूपयोग गरेर सम्पन्न गरिएका कतिपय वडा अधिवेशनहरू आफूहरूलाई मान्य नहुने चेतावनी दिए ।

क्रियाशील सदस्यता वितरण र विवाद समाधान गर्नका लागि पौडेलसहितका नेताहरूका तर्फबाट सदस्य छन् । आफैले गरेका सहमति र सर्वसम्मत निर्णयहरूविरुद्ध पौडेलले देउवाविरुद्ध अपात्तिजनक अभिव्यक्ति दिएपछि कांग्रेसभित्र चर्चा भएको छ ।

नेता पौडेलले आफू निकटका नेता कार्यकर्तालाई पाखा लगाउने काम पार्टी नेतृत्वले गरेको बताएका छन् । उनले महाधिवेशनमा नेतृत्व रूपान्तरण गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।

‘वडा अधिवेशनहरू भयो भनेर नाटक रच्न खोजिएको छ’, नेता पौडेलले देउवाविरुद्ध आपत्तिजक अभिव्यक्तिहरू दिँदै भने, ‘हामी यसलाई मान्दैनौं ।’

उनले भने, ‘हामी त्यसको विरूद्धमा, यस्तो चुनाव हुनुहुँदैन, त्यसरी धाँधलीका प्रपञ्च रच्न, यसरी सत्ता र शक्तिको दुरूपयोग गर्न नेपाली कांग्रेसजस्तो पार्टीलाई सुहाउँदैन ।’

‘कांग्रेसजस्तो लोकतन्त्रको पाठशाला भएको पार्टीलाई आज यस किसिमले सत्ता र शक्तिको प्रयोग गरेर यसको चुनावलाई अपवित्र पार्ने काम, साथीहरूलाई पाखा लगाउने काम, जो भएको छ’, नेता पौडेलले भनेका छन् ।

‘हामी त्यसको विरोध गर्न चाहन्छौं’, पौडेलले भने, ‘यस किसिमले देशैभरि पार्टीमा क्रियाशील सदस्यतादेखि नै धाँधली गरेर सत्ता हत्याउने कोसिस, जो गर्न खोजिएको छ, त्यो दुस्साहस हो । हामी हुन दिँदैनौं ।’

उनले भने, ‘कांग्रेसलाई हामी लोकतन्त्रको बाटोबाट कुनै पनि हालतमा बिचलित हुन दिँदैनौं ।’

देउवाले पार्टीको क्रियाशील सदस्यता छानबिन गर्ने काममा समेत देशभर धाँधली गरेको नेता पौडेलले आरोप लगाए ।

Published : Monday, 2021 September 13, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया