जनमोर्चाभित्र विवाद, भेलाले नेताहरूलाई तनाब

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रदेश नं. २ मा भएको प्रदेशस्तरय भेलाको आलोचना गर्दै अराजक र फुटपरस्त गतिविधि भनेको छ ।

जनमोर्चाका महासचिव मनोज भट्टले विज्ञप्ति जारी गरेर भदौ २७ गते भएको प्रदेश नं. २ को प्रदेशस्तरीय भेलाको भ्रममा नपर्न पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

‘भदौ २७ गते राष्ट्रिय जनमोर्चा प्रदेश नं. २ को प्रदेशस्तरीय भेला भनेर जुन प्रकारको गतिविधि भएको छ, त्यो अराजक र फुटपरस्त गतिविधि हो’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसलाई हामीले विरोध गर्दछौँ । त्यसको भ्रममा नपर्न पार्टीका साथीहरु र आम जनसमुदायलाई अपील गर्दछौँ ।’

‘पार्टीमा भएका मतमतान्तर वा समस्यालाई समाधन गर्ने विधि र प्रक्रिया छन्’, जनमोर्चाले भनेको छ, ‘त्यो विधि र प्रक्रिया नअपनाई, केन्द्रको सहमति बेगर भएको त्यो भेला अवैधानिक छ त्यसका साथै प्रचार गरिएको समिति समेत अवैध छ ।’

राष्ट्रिय जनमोर्चाको केन्द्रीय समितिले काजीलाल वाइवाको नेतृत्वमा पछि प्रदेश सम्मेलन गर्ने गरी गठन गरिएको प्रदेश समिति नै आधिकारिक रहेको महासचिव भट्टले जनाएका छन् ।

‘समानान्तर समिति गठन गर्ने उद्देश्यले गरिएको कथित प्रदेश भेला आयोजना गर्नमा कसको के भूमि रह्यो त्यसबारे छिट्टै छानविन हुनेछ र फुटपरस्त गतिविधिमा संलग्न भएकाहरूलाई दलको विधान बमोजिम आवश्यक अनुशासनको दायरामा ल्याइनेछ’, उनले भनेका छन् ।

सानो पार्टी जनमोर्चाभित्र प्रदेश २ मा विवाद भएको छ । विवाद भएपछि अर्को समूहले अलग भेला गरेपछि जनमोर्चामा तनावपूर्ण अवस्था सिर्जना गरेको छ । प्रतिनिधि सभामा जनमोर्चाको १ सिट रहेको छ ।

Published : Monday, 2021 September 13, 8:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया