पौडेलद्वारा सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवारी घोषणा, गगन–प्रदीपको जोडी फुट्यो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेता कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् ।

आइतबार पौडेलले केही अनलाइन सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा सिटौला समूहको तेस्रोधारबाट महामन्त्रीमा उम्मेदवार बन्ने बताएका हुन् । उनले आफूलाई महामन्त्रीको स्वभाविक उम्मेदवार भएको बताएका छन् ।

‘तेस्रो धारमै अडिग रहेर महामन्त्रीमा उम्मेदवारी दिँदैछु’, युवा नेता पौडेलले भने, ‘महाधिवेशनमा धारहरू उदाउने, गुटहरू जन्मिने परिस्थिति बन्छन् ।’

उनले भनेका छन्, ‘हामी अलिकति भिन्न ढंगको वैचारिक हिसाबले संगठित हुने, फरक ढंगबाट प्रस्तुत हुने सोँचका साथ अगाडि बढिरहेका छौं ।’

केन्द्रीय महाधिवेशन आउन अझै दुई महिना बाँकी रहेको भन्दै पौडेलले भने, ‘प्यानल त उम्मेदवारीको प्रक्रियासँगै पनि बन्न सक्छ ।’ नेता पौडेलले सिटौला समूहमा रहेर महामन्त्रीमा उम्मेदवारी दिने दोहोर्‍याएका छन् ।

‘हामी अलिकति भिन्न ढंगको वैचारिक हिसाबले संगठित हुने, फरक ढंगबाट प्रस्तुत हुने सोँचका साथ अगाडि बढिरहेका छौं’, उनले भने, ‘महाधिवेशनको प्यानल पनि अब चाँडै सार्वजनिक हुन्छ । अरु धेरै जना संगठित हुने अवस्था पनि बन्छ ।’

नेता पौडेलले गगन थापाले सिटौला समूह छाडेर अरु समूहमा गएको भनेर औपचारिक रुपमा जानकारी नगराएको बताए ।

‘गगनजीले हामीबाट छुट्टिएको वा अन्तै गएको भन्नुभएको छैन’, पौडेलले भने, ‘हामी १३औं महाधिवेशनकै संगठित समूह हौं । अहिले यो अझै फैलिएको छ ।’

उनले भने, ‘महाधिवेशनमा प्रतिस्पर्धाका लागि विभिन्न ढंगबाट संगठित हुने कुरा हुन्छ ।’

‘चालु स्वरुपलाई निरन्तरता दिएर अगाडि बढ्ने परिस्थिति पनि बन्छ’, उनले भनेका छन्, ‘हामी यसमा छलफल पनि गर्नेछौं ।’

उनले सीमित घेराबाट पार्टी नबन्ने बताएका छन् । कांग्रेसभित्र वैचारिक निर्माण गर्ने, कमजोरी हटाएर आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने उनले बताएका छन् ।

उनले १४औँ महाधिवेशनबाट तेस्रो धार र तेस्रो पुस्ता जबर्जस्त रुपमा उदाउने बताएका छन् ।

‘यो महाधिवेशनले युवा खोज्छ, धेरै पदमा नयाँ अनुहार ल्याउँछ’, नेता पौडेलले भने, ‘कांग्रेसमा केही नयाँ हुनेवाला छ ।’ उनले १४औं महाधिवेशनबाट पुस्तान्तरण हुने निश्चित रहेको बताएका छन् ।

सिटौला समूहबाट राजनीतिमा राम्रो प्रगति गरेका गगन थापाले केही दिन अगाडि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

महामन्त्री घोषणा गर्दा थापाले नेता सिटौलासँग कुनै पनि परामर्श गरेका थिएनन् । नेता थापा रामचन्द्र पौडेलसँग निकट रहेर बैठक, भेला र कार्यक्रमहरूमा सहभागी हुँदै आएका छन् ।

सिटौला समूहमा नेताद्वय थापा र पौडेल हस्ति मानिन्छन् । थापाले सिटौला समूह परित्याग गरेको संकेत गरेपछि सिटौलालाई पौडेलले अन्तिमसम्म साथ दिने संकेत गरेका छन् ।

थापा र पौडेलले महामन्त्री पदमा अलग अलग उम्मेदवारी घोषणा गरेपछि उनीहरूको जोडी फुटेको भनेर चर्चा शुरु भएको छ ।

Published : Sunday, 2021 September 12, 9:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया