७० हजार मान्छे मार्ने कम्युनिस्ट साइनिङ पाथका नाइके गोञ्जालोको मृत्यु

लण्डन । पेरुका कम्युनिस्ट नेता गोञ्जालोको ८६ वर्षको उमेरमा मृत्यु भएको छ ।

शनिबार बिहान ६ बजेर ४० मिनटमा गोञ्जालोको सैनिक अस्पतालमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपीले जनाएका छन् । बिरामी भएका गोञ्जालोलाई सैनिक अस्पतालमा भर्ना गरिएको थियो ।

गोञ्जालो पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष हुन् । उनको वास्तविक नाम रुबेन एबिमाएल गुजम्यान रेयनोसो हो ।

गोञ्जालोलाई कम्युनिष्ट आन्दोलनमा ‘चेयरम्यान गोञ्जालो’ भनेर सम्बोधन गरिन्थ्यो । गोञ्जालो कम्युनिस्टका नाममा उत्पात मच्चाएर आतंक मच्चाएका थिए ।

गोञ्जालोको जन्म ३ डिसेम्बेर १९३४ मा भएको थियो ।

कम्युनिष्ट आन्दोलनमा लाग्नुअघि उनी दर्शनशास्त्रका प्राध्यापक थिए । उनले पेरूका तत्कालीन राष्ट्रपति अल्बर्टो फुजीमोरी शासनकाविरूद्ध सन् १९८० देखि १९९९ सम्म चलेको सशस्त्र विद्रोहको नेतृत्व गरेका थिए ।

माओवादी दर्शनको पक्षपाती साइनिङ पाथलाई विश्वकै सशक्तमध्येको एक सशस्त्र कम्युनिष्ट संगठन मानिन्थ्यो ।

हिंसात्मक आन्दोलनमा २० वर्षमा करीव ७० हजार नागरिकको मृत्यु भएको सन् २००३ मा पेरुको ‘ट्रुथ एन्ड रिकन्सिलिएसन कमिसन’ले जनाएको छ ।

नेपालमा माओवादीको कथित जनयुद्धका बेला १२ वर्षमा १७ हजार मानिसलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईहरूले मारेका थिए ।

उनलाई फुजिमोरी सत्ताले आजीवन कारावासको सजाय सुनाएको थियो । गोञ्जालोलाई पेरुको नौसेना आधार इलाकामा रहेको कालाओ जेलको पिँजडाघरमा राखिएको थियो ।

उनी सन् १९९२ सेप्टेम्बर १२ मा राजधानी लिमाबाट पक्राउ परेका थिए । गोञ्जालोको पक्राउसँगै साइनिङ पाथको सशस्त्र विद्रोह सुस्ताएको थियो ।

जेलमै हुँदा अर्की कैदी एलिना इपारागिरेसँग उनले विवाह गरेका थिए । यो उनको दोस्रो बिहे थियो । उनको पहिलो श्रीमतीको युद्धकै बेला एगुस्टा ला टोरेको सन् १९८८ मा रहस्यमय मृत्यु भएको थियो । उनको मृत्युमा गोञ्जालोको प्रेमिका रहेकी इपारागिरेकै हात रहेको आरोप लागेको थियो ।

केही महिनाअघि पेरुमा वामपन्थी राष्ट्रपति पेद्रो कास्टियो निर्वाचित भएर आएपछि विश्वभरिबाट गोञ्जालोको रिहाइको माग भइरहेको थियो ।

Published : Sunday, 2021 September 12, 11:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया