तरुणबाट भक्तपुरमा वडा सभापति र प्रतिनिधिमा शानदार प्रवेश, सभापति र अध्यक्षद्वारा खुसी व्यक्त

भक्तपुर । नेपाल तरुण दल भक्तपुरले वडा अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधिमा निर्वाचित तरुणहरूलाई बधाइ, शुभकामना तथा सम्मान गरेको छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भदौ २१ र २२ गते सम्पन्न वडा अधिवेशनमा तरुण दलमा आबद्ध भएर वडा सभापति र क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकाहरूलाई शनिबार पार्टी कार्यालय भक्तपुरमा कार्यक्रम राखेर बधाइ दिइएको हो ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा र नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरूलाई बधाइ दिएका थिए हुन् ।

भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले पार्टीको महाधिवेशनमा तरुणहरूको उपस्थिति बलियो हुनुपर्ने बताए ।

‘कांग्रेसले जहिले पनि तरुणहरूलाई महत्व दिँदै आएको छ । १४औँ महाधिवेशनमा पनि तरुणहरू अगाडि आउनुपर्छ’, उनले भने, ‘भक्तपुर कांग्रेसले तरुणहरूलाई अगाडि बढाउन मद्दत गर्छ । तरुणहरूलाई मेरो साथ जहिले पनि रहन्छ ।’

भक्तपुर तरुण दलका अध्यक्ष राजु थापाले भक्तपुरबाट तरुणहरूले पार्टीमा आफ्नो जबरजस्त उपस्थिति देखाउन सफल भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

‘भक्तपुरका तरुण दलका साथीहरू वडा सभापति र क्षेत्रीय प्रतिनिधि बनेर कांग्रेसमा आफ्नो जबरजस्त उपस्थिति गराउनु नै खुसीको कुरा हो’, उनले भने, ‘कांग्रेसलाई ठूलो पार्टी बनाउन हामी तरुणको भूमिका र योगदान रहन्छ ।’

अध्यक्ष थापाले तरुण दलका तत्कालीन अध्यक्ष बालकृष्ण खाण अहिलेको सरकारमा गृहमन्त्री रहेको भन्दै तरुणहरू पनि नेतृत्वमा जान सक्छन् भन्ने यो सबैभन्दा ठूलो उदाहरण रहेको उल्लेख गरे ।

Published : Sunday, 2021 September 12, 7:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया