तरुण दलका केन्द्रीय उपाध्यक्ष चापागाइँको वडामा के भयो ?

दिङ्ला । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले १४औँ महाधिवेशनबाट निर्वाचित भएर आउने नेतृत्वले आगामी निर्वाचनमा बहुमत ल्याउने बताएका छन् ।

भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नम्बर ८ मा सम्पन्न कांग्रेसको वडा सम्मेलनमा सम्बोधन गर्दै चापागाइँले कांग्रेसप्रति जनताको आकर्षण बढेर गएको बताए । उनले भने, ‘कांग्रेसप्रति जनताको भरोसा झन् बढेर गएको छ । हामीले जनताको भरोसालाई खेर जान दिनु हुँदैन ।’

कांग्रेसको वडादेखि आउने प्रतिनिधिहरूले राम्रो नेतृत्वलाई मतदान गर्नुपर्ने चापागाइँले बताएका छन् । ‘मेरोलाई भन्दा पनि राम्रो र सक्षम नेतृत्वलाई मतदान गर्नुपर्छ’, उनले भने, ‘अग्रजलाई सम्मान गरेर युवा पुस्ताले नेतृत्व लिनेतिर जानुपर्छ ।’

यसैबीच, वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन् । तरुण उपाध्यक्ष चापागाइँसहितका नेताहरू क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् ।

वडा सभापतिको जिम्मेवारी राम शाहीले पाएका छन् । शाहीको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति बनेको छ ।

कार्यक्रमको सभापतित्व देवीबहादुर राईले गरेका थिए । दीपक भुजेलद्वारा सञ्चालन गरिएको कार्यक्रममा देवीबहादुर श्रेष्ठ, मनोजकुमार चापागाइँ, भीमबहादुर तामाङ, हर्कराज राई, ताराप्रसाद श्रेष्ठ, हरिप्रसाद पराजुली, सोमबहादुर तामाङ, प्रेमकुमार राई, बमबहादुर तामाङ, सुवास तामाङ, षडानन्द गौतमलगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2021 September 11, 3:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया