कांग्रेसको निर्वाचन समितिका संयोजक यादवले राजीनामा बुझाए

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक पूर्वमहान्यायाधिवक्ता महादेव यादवले पदबाट राजीनामा दिएका छन् ।

यादवले डडेलधुरा कांग्रेसभित्र देखिएको विवादमा शीर्ष नेतृत्वबाट आएका अलग–अलग अभिव्यक्तिलाई लिएर राजीनामा दिएको उच्च स्रोतले जनाएको छ ।

संयोजक यादवले प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएको दाबी स्रोतको छ । यादवले बाँकी रहेका जिल्लाका क्रियाशील सदस्यहरूको नामावली पनि बुझाउन नेतृत्वलाई दवाव दिन राजीनामा दिएको स्रोतको भनाइ छ ।

सभापति देउवाले संयोजक यादवलाई १४औँ महाधिवेशन गर्न आफ्नो तर्फबाट सबै सहयोग हुनेभन्दै राजीनामा नदिन आग्रह गरेका छन् । संयोजक यादवको राजीनामा स्वीकृत भएको छैन ।

सभापति देउवाको गृहजिल्ला डडेलधुरामा जिल्ला सभापति कर्णबहादुर मल्लको सहमतिबिना वडा अधिवेशन गराएको भन्दै आलोचना भएको थियो ।

यसैबीच, शुक्रबार डडेल्धुरामा विवादबीच वडा अधिवेशन शुरु भएको छ । जिल्ला कार्यसमितिले बहिस्कारको निर्णय गरे पनि सात वटा स्थानीय तहका ५२ वडामध्ये ४८ मा निर्वाचन प्रक्रिया शुरु भइसकेको निर्वाचन समितिले जानकारी दिएको छ ।

बाँकी वडामा पनि अधिवेशन गर्न छलफल भइरहेको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिएका छन् ।

कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले सदस्यता विवाद नै नटु‌ंग्याइ गरिएको अधिवेशनमा आफूहरुको सहभागिता नहुने बताएका छन् ।

सभापति देउवा समूहले एकलौटी रूपमा क्रियाशील सदस्यतादेखि उम्मेदवारसम्मको टुंगो केन्द्रबाटै लगाएको मल्लको आरोप छ ।

Published : Friday, 2021 September 10, 9:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया