कांग्रेसको वडा भनेर खुम्चिने होइन, काम गर्न क्षेत्राधिकार ठूलो छ : रामकृष्ण खाण

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणले वडा अधिवेशनबाट निर्वाचित वडा सभापति र नयाँ नेतृत्वले निर्वाचनमा सबै तहका उम्मेदवारलाई जिताउनुपर्ने दायित्व रहेको बताएका छन् ।

नेपाली कांग्रेस सिद्धार्थनगर नगरपालिकामा वडा अधिवेशनबाट निर्वाचित १३ जना वडा सभापतिहरूको स्वागत र सम्मान तथा निवर्तमान वडा सभापतिहरूको विदाइमा बिहीबार भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खाणले वडा कार्यसमितिहरूबाट कांग्रेसले ठूलो अपेक्षा राखेको बताए ।

‘कांग्रेसको वडा कार्यसमितिहरू नै सबैभन्दा शक्तिाशाली संगठन हुन् । वडाले नै गाउँका जनतालाई संगठनमा जोडेर राख्छन्’, सचिव खाणले भने, ‘वडा भनेर खुम्चिएर बस्ने होइन । वडाको क्षेत्राधिकारको महत्व बुझ्नुपर्छ । वडाको दायित्व र भूमिका फराकिलो छ ।’

उनले वडा बिलयो भने मात्रै कांग्रेसको केन्द्रीय कार्यसमितिसम्मको संरचना बलियो हुने बताए । ‘अब आउने स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन जिताउने भनेकै वडा कार्यसमितिको दायित्व हो’, खाणले भने, ‘तपाईहरूलाई आवश्यक पर्ने सबै सहयोग गर्न हामी जिल्ला कार्यसमिति, क्षेत्र र सबै तहका कार्यसमितिहरू तयार छौँ । तपाईहरू एक्लै हुनुहुन्न ।’

झण्डै दुईतिहाइ बहुमत पाएका कम्युनिस्टहरू साढे ३ वर्षमा असफल भएपछि कांग्रेसलाई देशलाई सहि बाटोमा लैजाने जिम्मेवारी आएको समेत खाणले उल्लेख गरेका छन् ।

उनले १४औँ अधिवेशनलाई सहमति, सहकार्य र एकताको बाटोबाट अगाडि बढाउनुपर्ने बताए ।

रुपन्देही क्षेत्र नं. ३ का सचिव एवम् युवा नेता सुशील गुरुङले कांग्रेसलाई बलियो बनाउने संगठन भनेकै वडा कार्यसमितिहरू रहेको बताए ।

उनले भने, ‘वडा कार्यसमितिहरू सक्रिय हुँदा कांग्रेसले जीवन पाउँछ । वडा सभापति र पदाधिकारीहरूले आफ्नो शक्ति र जिम्मेवारीलाई बुझ्न जरुरी छ ।’

गुरुङले गुटको राजनीति तर्फ संकेत गर्दै विगतका गल्तीहरूलाई भुलेर नयाँ शिराबाट अगाडि बढ्नुपर्ने बताएका छन् ।

‘हामीबाट हुने गल्ती वा भुलसुधारलाई समयमा सच्याउनु उपयुक्त हुन्छ’, क्षेत्रीय सचिव गुरुङले भने, ‘हिन्दु धर्ममा प्राण नभएको ढुंगालाई हामीले पूजा गर्छौं । अहिले आएर मैले प्राण भएको भगवान पाएको छु ।’

नेपाली कांग्रेसका जनसम्पर्क समिति समन्वय विभागका केन्द्रीय सदस्य, लगानी पूर्वाधार र दिगो विकास सम्बन्धि विशेष समिति अन्तर्गत सञ्चालित गरिखाने अभियानका लुम्बिनी प्रदेश संयोजक विमल ढकालले असल नेतृत्वलाई मतदान गर्न वडा अधिवेशनबाट चुनिएर आएका क्षेत्रीय प्रतिनिधिहरूसँग अनुरोध गरेका छन् ।

उनले राम्रो व्यक्तिलाई जिताउँदा कांग्रेस र समग्र देशको विकास हुने बताएका छन् ।

कोभिड अनुगमन समितिका केन्द्रीय सदस्य समेत रहेका ढकालले कांग्रेस नेता एवम् गृहमन्त्री बालकृष्ण खाणलाई महामन्त्रीमा जिताउन रुपन्देही कांग्रेसको भूमिका विशेष हुने बताए । ‘बालकृष्ण खाणको व्यक्तित्वका कारण रुपन्देही कांग्रेसले गौरव गर्नुपर्छ’, उनले भने, ‘बालकृष्ण दाईले महामन्त्री जित्नु भयो भने भविष्यमा पार्टी सभापति र प्रधानमन्त्रीको प्रमुख दाबेदार हुन सक्ने व्यक्ति छ । उहाँलाई जिताउनुपर्छ ।’

ढकालले वडा अधिवेशनबाट निर्वाचित भएका कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरूको कांग्रेसको संगठन निर्माणमा ठूलो भूमिका रहने बताएका छन् ।

नेता ढकालले भने, ‘५ वर्षसम्म निष्कृय हुने अधिवेशन हुँदा पद खोज्दै आउने परम्परा देशभरि छ । वडा सभापतिहरू र क्षेत्रीय प्रतिनिधिहरूको भूमिका ठूलो छ ।’

कार्यक्रममा पूर्वसांसद जैनितुन निशा, पूर्वसांसद इस्तिहाक अहमद खान, नगर सचिव यामबहादुर थापा, रुपन्देही क्षेत्र नं. ३ ‘क’का सचिव लेखनाथ भट्टराई, जिल्ला सदस्य महेन्द्र श्रेष्ठ, सगठन विभागका सदस्य सुदर्शन नेपाल, पूर्व उप–सभापति विजय शर्मा, प्रदेश ‘क’ प्रत्यासी देवी चौधरी, जिल्ला सदस्य सुरेन्द्रजंग थापा, वडा नं. ४ का सभापति नरेन्द्र रौनियार, वडा नं. ६ का निवर्तमान वडा सभापति वीरेन्द्र श्रीवास्तव, नेतृ शलुजा रामदाम लगायतले धारणा राखेका थिए ।

कार्यक्रमका वक्ताहरूले वडा सभापतिहरूलाई कार्यकालको शुभकामना दिँदै कांग्रेसको संगठन निर्माणमा ध्यान दिन आग्रह गरे ।

उनीहरूले नेपाली कांग्रेस सिद्धार्थ नगर कार्यसमितिको सभापतिमा कोशिष खड्कालाई विजयी बनाउन आग्रह गरेका थिए । नगर सभापतिमा उम्मेदवारी घोषणा गरेका खड्का साफ गेमका स्वर्ण पदक विजेता हुन् ।

कोषाध्यक्ष दीपक क्षेत्री न्याउपानेको सभापतित्वमा भएको कार्यक्रमलाई अनिलकुमार केसीले सञ्चालन गरेका थिए ।

Published : Thursday, 2021 September 9, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया