वीपीद्वारा स्थापित मूल्य, मान्यता, आदर्शको राजनीति गरौँ : डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले वीपी कोइरालालाई स्मरण गर्दै मूल्य र मान्यताको राजनीति गर्न आग्रह गरेका छन् ।

वीपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसरमा बिहीबार विज्ञप्ति जारी गरेर डा.महतले प्रजातान्त्रिक समाजवादका प्रणेता वीपीद्वारा स्थापित मूल्य, मान्यता र आदर्शलाई आत्मसात गर्नुपर्ने बताए । उनले कांग्रेस मुलुकलाई गति र दिशा दिने भरपर्दो र लोकप्रिय राजनीतिक दलको रुपमा स्थापित भएको बताएका छन् ।

‘लोकतन्त्रप्रतिको अविचलित आस्था र यसको स्थापना, पुनर्स्थापना र संरक्षण तथा विकासमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले गर्नुभएको त्याग र बलिदानका कारण हाम्रो नेतृत्वमा २०४६ को जनआन्दोलनमार्फत मुलुकमा बहुदलीय संसदीय व्यवस्थाको पुनर्स्थापना सम्भव हुनुका साथै २०६२–६३ को शान्तिपूर्ण आन्दोलनमार्फत निरंकुश राजतन्त्र पराजित हुनगई पहिलो संविधानसभाको पहिलो बैठकले गणतन्त्रको स्थापना गरेको र नेपाली कांग्रेसको नेतृत्वमा दोस्रो संविधानसभाबाट संघीयता, गणतन्त्र, समावेशिता सहितको संविधान जारी गर्न सफल भएको गौरवपूर्ण स्वर्णिम इतिहास नेपाली कांग्रेसले रच्न सकेको यथार्थलाई हामी यस अवसरमा स्मरण गर्न चाहान्छौँ’, विज्ञप्तिमा भनिएको छ ।

डा.महतले भने, ‘कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया आरम्भ भैसकेको र वडा तहमा नेतृत्व तथा प्रतिनिधिहरू निर्वाचित भैसक्नुभएको शुभअवसरमा यस पटकको वीपी जन्मजयन्तीको विशेष महत्व रहेको छ ।’

‘यसले हामीलाई वीपी कोइरालाले स्थापित गर्न चाहनुभएको समाजका मूल्य, मान्यता, आदर्शप्रति प्रतिबद्ध रहि समाजसेवा गर्न प्रेरित गर्ने मैले विश्वास लिएको छु’, सह–महामन्त्री डा.महतले भनेका छन् ।

‘म यस अवसरमा वडा अधिवेशनमा निर्वाचित हुनुभएका पदाधिकारीसहित समस्त प्रतिनिधिहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै निर्वाचन हुन बाँकी रहेका वडा, नगर र गाउँ, क्षेत्र, जिल्ला,प्रदेश र विदेशस्थित जनसम्पर्क समिति तथा विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा प्रतिनिधि बनेर वीपी कोइरालाले निर्धारण गर्नुभएको मार्ग अबलम्बन गर्दैै नेपाली समाजलाई प्रजातान्त्रिक समाजवादको मार्गबाट समुन्नतिको शिखरमा पुर्‍याउने प्रतिबद्धतासहित पार्टीको महाधिवेशनमा सक्रिय हुनुभएका देश र विदेशमा रहनुभएका नेपाली कांग्रेसका साधारण सदस्य, क्रियाशील सदस्य, विभिन्न तहका पदाधिकारी तथा कार्यसमितिका सदस्य, शुभेच्छुक एवम् भ्रातृसंस्थाका पदाधिकारी तथा सदस्यहरूसहित शुभेच्छुकहरूमा हार्दिक शुभकामना प्रकट गर्दछु’, उनले भनेका छन् ।

Published : Thursday, 2021 September 9, 2:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया