गगन र विश्वप्रकाशबीच महामन्त्रीमा कडा टक्कर हुने, शर्माद्वारा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंको सुन्दरीजलस्थित वीपी संग्राहलयमा बिहीबार पत्रकार सम्मेलन गरेर शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले कांग्रेसलाई सफल बनाउन महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
उनले भने, ‘वीपी कोइरालाले सपना देख्नुभयो र १५ वर्षभित्र सबै नेपालीलाई मेरो परिवारको स्तरको आय–आर्जन गर्न सक्ने बनाउँछु भन्नुभएको थियो ।’
‘२०१६ साल जेठ १५ गते प्रधानमन्त्री भएका बीपीले ३१ सालसम्म मलाई प्रधानमन्त्री चाहिन्छ भनेको होइन’, शर्माले भने, ‘जनतालाई तीन कार्यकाल अनुमोदन गर्नुभयो भने यस्तो हुन्छ भन्नुभएको थियो ।’
उनले भने, ‘अब नेपाली कांग्रेसले पनि अबका १५ वर्षको परिकल्पना गर्न जरुरी छ ।’
कांग्रेसले एउटा निर्वाचन जितेपछि दोस्रो निर्वाचन हार्ने गरेको भन्दै शर्माले १५ वर्षको परिकल्पना नभए कांग्रेसमा पनि सुधार नआउने बताएका छन् ।
उनले भने, ‘मलाई महामन्त्री बनाउनुभयो भने तपाईंहरू सबैको साथ, सहयोग र समर्थन लिएर कांग्रेसलाई १५ वर्षको परिकल्पना गराउनेछु ।’
शर्माले भने, ‘युवाहरूमा जागरणसहित पार्टीमा नयाँ जागरण र नयाँ आकर्षण निर्माण गर्नेछु ।’
शर्माले १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरे पनि कुन प्यालनबाट प्रतिस्पर्धा गर्ने हुने खुलाएनन् ।
यसअघि, महामन्त्रीमा डा.प्रकाशशरण महत, गगन थापाले उम्मेदवारी घोषणा गरिसकेका छन् । विमलेन्द्र निधि र कल्याण गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया