मनाङ एमालेका लोकप्रिय युवा नेता कांग्रेसमा प्रवेश, सभापति गुरुङद्वारा स्वागत

काठमाडौं । नेपाली कांग्रेस मनाङका सभापति एवम् पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङले एमालेका स्थानीय लोकप्रिय युवा नेता महेन्द्र घलेलाई पार्टीमा स्वागत गरेका छन् ।

काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सभापति गुरुङले एमालेका युवा नेता घलेलाई कांग्रेसमा स्वागत गरेका हुन् ।

कांग्रेसमा प्रवेश गरेका घले चामे– २, थानचोक निवासी हुन् । एमालेभित्रको व्यक्तिवादी चरित्र र झुठ बोल्ने हर्कतका कारण दिक्क लागेर पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेको घलेले बताएका छन् ।

सभापति गुरुङले कांग्रेसभित्र सबैलाई समान व्यवहार हुनेभन्दै योग्यता र क्षमताका आधारमा काम गर्ने अवसर सबैले पाउने बताए ।

उनले भने, ‘कांग्रेसले झुठ बोल्न जानेको छैन । जे बोल्छ त्यही गर्छ । आउनुस् सबै मिलेर कांग्रेसलाई ठूलो पार्टी बनाएर देशको विकास गर्नुपर्छ ।’

कांग्रेस प्रवेश गरेका घलेले आफूले पार्टीले दिएको जिम्मेवारी ईमान्दरी पूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

घले युवाहरूका बीच लोकप्रिय छन् । उनले युवाहरूको साथ लिएर कांग्रेसलाई बलियो बनाउन आफूले कुनै कसर बाँकी नराख्ने जनाएका छन् ।

घलेले एमाले छाडेर कांग्रेसमा प्रवेश गरेपछि मानाङमा एमालेभित्र धक्का पुगेको छ । एमालेका स्थानीय नेताहरू चिन्तित बनेका छन् ।

सभापति गुरुङले मनाङमा कांग्रेसलाई एकढिक्का बनाएर राखेका छन् । गुरुङ कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत वडा अधिवेशन र क्षेत्रीय प्रतिनिधि तथा जिल्ला सभापतिलगायतमा सर्वसम्मत बनाइसकेका छन् ।

Published : Wednesday, 2021 September 8, 2:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया