स्व.सूर्यबहादुर थापाका नाती कांग्रेसको सक्रिय राजनीतिमा छिरे, के–के भयो धनकुटामा ?

धनकुटा । नेपाली कांग्रेसका सह–महामन्त्री सुनिलबहादुर थापाको वडामा नयाँ कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चुनिएका छन् ।

धनकुटा जिल्लामा करीव ५ हजार क्रियाशील सदस्य छन् । सबैको सहयोग र सक्रियतामा तोकिएको समयभित्र अधिवेशनहरू सम्पन्न भएका छन् ।

सह–महामन्त्री थापाको घर रहेको पाख्रिबास नगरपालिकाको वडा नम्बर ८ मा पनि क्षेत्रीय प्रतिनिधि र नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

सोही वडाबाट स्व.सूर्यबहादुर थापाका नाती एवम् सह–महामन्त्री थापाका छोरा सिद्धार्थ थापा क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत आएका छन् ।

सिद्धार्थले कांग्रेसको राजनीतिमा आफूलाई सक्रिय र स्थापित गर्ने संकेत गरेका छन् । पाख्रीबास नगरपालिका– ८ मा कांग्रेसको वडा सभापतिमा गजेन्द्र राई सर्वसम्मत भएका छन् ।

धनकुटा जिल्लाका अधिकांश वडाहरूमा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत रुपमा सम्पन्न भएका छन् ।

धनुकटामा अधिवेशन सर्वसम्मत र एकताको भावनाले सम्पन्न भएको भन्दै सह–महामन्त्री थापाले खुसी व्यक्त गरेका छन् । उनले सबै क्रियाशील सदस्य र कांग्रेसका नेता कार्यकर्तालाई धन्यावाद दिएका छन् ।

‘सहमति सहकार्य र एकताको भावनाले अधिवेशन सम्पन्न भयो’, उनले भने, ‘पार्टी समायोजन पनि राम्रोसँग भएको छ ।’

उनले भने, ‘धनकुटामा करीव ५ हजार क्रियाशील सदस्य एकनासले जुटेर अधिवेशन सफल गरेका छौँ ।’

Published : Wednesday, 2021 September 8, 7:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया