एमसीसीबारे देउवाको खुलासाले तरंग उत्पन्न, सरकारसँग गगन असन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले नेपालमा विकासविरोधीहरूले एमसिसीबारे अनावश्यक भ्रम फैलाएको बताएका छन् ।

संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकमा एमसिसी ल्याउने सन्दर्भमा सबै दलका नेताहरू तयार रहेको बताएका छन् । देउवाले एमसीसीमा आफूलाई मात्र दोष दिन खोजिएको भन्दै असन्तुष्टि जनाए ।

‘एमसिसीले कति मुलुकले प्रगति गरिसके, यहाँ भने विकासविरोधीले भ्रम मात्रै फैलाए’, सभापति देउवाले भनेका अभिव्यक्ति उदृत गर्दै सचेतक पुष्पा भुसालले जानकारी दिएकी छिन् ।

बैठकमा मन्त्रिमण्डल समावेशी बनाउने, गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति र सरकारको कार्यशैली र संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको छ ।

सांसद गगन थापाले सरकारका गतिविधिका कारण पार्टीको आलोचना शुरु भएको भन्दै सरकारको आलोचना गरेका छन् ।

‘ओली सरकारले तीन वर्षमा के गरे भन्ने प्रश्न महत्वपूर्ण होइन’, थापाले भने, ‘कांग्रेस नेतृत्वको सरकारले १७ महिनामा के गर्छ भन्ने महत्वपूर्ण हो ।’

उनले भने, ‘सरकारका कारण पार्टीको आलोचना बढ्यो ।’

बैठकमा प्रधानमन्त्री देउवाले एमसीसीका विषयमा जानेबुझेकाले मात्रै बोल्न निर्देशन दिएका छन् । उनले एमसीसीबारे भ्रम फैलाइएको आरोप लगाए ।

Published : Wednesday, 2021 September 8, 12:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया