वडा अधिवेशन शुरु भएकै दिन खनालद्वारा लुम्बिनीको सभापतिमा उम्मेदवारी घोषणा

बर्दघाट । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद बिक्रम खनालले लुम्बिनी प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

नेता खनालले साथीहरूको सुझाव र सल्लाहमा आफूले लुम्बिनी प्रदेशको सभापतिमा उम्मेदवारी दिने बताएका हुन् ।

शुक्रबार रिपब्लिका दैनिकसँगको कुराकानीमा खनालले भने, ‘साथीहरूसँग सरसल्लाह गरेको छु । सबैको सुझाव लुम्बिनी प्रदेशको सभापतिमा उम्मेदवारी दिनुपर्छ भन्नेछ ।’

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशनहरू शुरु भएको छ । अधिवेशन शुरु भएसँगै खनालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

‘हामीले परिवर्तन पर्छ । कांग्रेसलाई जिताउनुपर्छ’, उनले भने, ‘कांग्रेसले जिताउने भनेको गाउँका कार्यकर्ताले हो । कांग्रेसले जित्दा मात्रै राष्ट्रियता बलियो हुन्छ । देशमा विकास हुन्छ ।’

नेता खनालले गुट र उप–गुटमा लागेर कांग्रेसलाई कमजोर बनाउन नहुने बताए । ‘हामीले पहिला कांग्रेस बलियो बनाउने हो । त्यसपछि राजनीति गरौँला’, खनालले भने, ‘अहिले नै यो वा त्यो भनेर लाग्नु हुँदैन । व्यक्तिगत स्वागतका लागि कम्युनिस्टसँग मिलेर आफ्नै दलका उम्मेदवारहरूलाई हराउने अन्तरघाती प्रवृत्तिको अन्त्य हुन जरुरी छ ।’

उनले वडा अधिवेशनमा सहभागी भएका सबै क्रियाशील सदस्यहरूलाई धन्यावाद पनि दिएका छन् ।

Published : Friday, 2021 September 3, 7:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया