कांग्रेस नेता तिमिल्सिनाद्वारा गुलरिया नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

गुलरिया । नेपाली कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले बर्दियाको गुलरिया नगरपालिकालाई मास्कसहितका स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेका छन् ।

शुक्रबार नेता तिमिल्सिनाले नगरपालिकाको कार्यालयमा आयोजित विशेष कार्यक्रममा नगर प्रमुख मुक्तिनाथ यादवलाई हस्तान्तरण गरेका हुन् ।

तिमिल्सिनाको पहलमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ र स्वास्थ्य विभागले ती स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको थियो । नेता तिमिल्सिनाले थप स्वास्थ्य सामग्रीहरू पनि उपलब्ध गराउने आश्वासन दिएका छन् ।

तिमिल्सिनाले नगर प्रमुख यादवलाई १० हजार सर्जिकल मास्क, १ हजार एन नाइन्टिफाइभ मास्क, २ सय पिस फेस सिल्ड र ५० लिटर सेनिटाइजर हस्तान्तरण गरेका हुन् ।

कांग्रेसका युवा नेता तिमिल्सिनाले आफूले गुलरियार नगरपालिकालाई सानो सहयोग गरेको बताए । ‘तेस्रो चरणको कोरोना महामारी आउने भनिएको छ । यो सहयोग गुलरियाका जनतालाई हो । व्यापारको रुपमा नबुझिदिनु होला’, उनले भने, ‘म किसानको छोरा हुँ । सबैको मजबुरी थाहा छ । समस्या थाहा छ ।’

उनले भने, ‘म यहाँबाट नेतृत्व गर्न सक्छु । जनताको संरक्षण गर्न सक्छु भनेर अगाडि बढेको छु । कामले मेरो परीक्षणमा हुनेछ ।’

नगर प्रमुख एवम् कांग्रेसका युवा नेता मुक्तिनाथ यादव पहिलो पटक राजनीतिक व्यक्तिबाट स्वास्थ्य सामग्रीमा ठूलो सहयोग पाएको बताएका छन् ।

‘गुलरियाबाट केन्द्रमा धेरै ठूला नेताहरूले राजनीति गर्छन् । जन्मजय तिमिल्सिना दाईको यो क्षेत्र पनि होइन’, उनले भने, ‘यो सहयोग जनताका लागि उदाहरणीय छ । सहयोगलाई बिर्सने छैनौँ ।’

स्वास्थ्य सामग्रीले तेस्रो चरणको कोरोना महामारीसँग जुध्न सहयोग हुने यादवले बताएका छन् ।

Published : Friday, 2021 September 3, 11:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया