खतिवडाले ‘पारा’लाई कम्युनिस्टमुक्त बनाइदिए, ओखलढुंगादेखि बालकोटसम्म खैलाबैला

मूलखर्क । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगा जिल्लाका विभिन्न स्थानमा एमाले र माओवादी केन्द्रका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन् ।

बिहीबार सुनकोशी गाउँपालिकाको मूलखर्क– ६ पारामा एमाले र माओवादीका ७५ जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई खतिवडाले स्वागत गरेका हुन् ।

कांग्रेस नेता खतिवडाले एमालेका पुराना नेता भस्मबहादुर बिक कांग्रेस पार्टीमा प्रवेश गरेसँग पारा नामक गाउँ कम्युनिस्ट मुक्त भएको बताएका छन् ।

२०४६ सालदेखि निरन्तर एमालेमा रहेका नेता बिक कांग्रेसमा प्रवेश गरेपछि ओखलढुंगामा कम्युनिस्टहरूलाई तनाब भएको छ ।

व्यक्तिगत स्वार्थमा एमालेका नेताहरू केन्द्रित भएपछि निराश भएका बिक पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेश बिकले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई बालकोटमा बसेर बार्दलीबाट नानाभाँती भन्ने फुर्सद नरहेको टिप्पणी गरे उनले कांग्रेस नै मुलुकको विकास गर्ने पार्टी रहेको भन्दै कांग्रेसमा इमान्दार भएर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै खतिवडाले ओखलढुंगाको विकासको नेतृत्व आफूले गर्ने बताए । उनले भने, ‘कांग्रेसले जितेका बेला ओखलढुंगामा कटारी–ओखलढुंगाको सडक बनेको छ । मैले जित्दा खानेपानी, सडक, बिजुली, विद्यालय लगायतका काम भएका छन् । अब पनि ओखलढुंगाको विकास मैले नै हो गर्ने ।’

खतिवडाले निर्वाचनमा जितेएर गएका जनप्रतिनिधिहरू गाउँमा नआउने गरे पनि आफू भने पराजित हुँदा समेत जनताका पीरमर्का बुझ्न घरदैलोमा आउने गरेको बताएका छन् । कुनै समस्या भए आफूलाई भन्न खतिवडो आग्रह गरेका छन् ।

कार्यक्रममा कांग्रेस नेताहरू रुद्र अधिकारी, कमल तामाङ, भोजकुमार श्रेष्ठ, कुमार श्रेष्ठ, दुर्गाकुमारी तामाङ, हुमबहादुर बिक, भीम गौतम, विष्णु मगर, कुमार मगरलगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2021 September 2, 11:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया