कांग्रेस हराउने अन्तरघातीलाई महाधिवेशनमा ठेगान लगाउनुपर्छ : नेतृ उपाध्याय

हेटौँडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’ले अन्तरघातीहरूलाई १४औँ महाधिवेशनबाट कार्यकर्ताहरूले ठेगान लगाउनुपर्ने बताएकी छिन् ।

बुधबार नेपाल तरुण दल हेटौँडा उप–महानगर समितिले हेटौँडा बजारमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उपाध्यायले यसअघिका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई हराउन लाग्नेहरूलाई महाधिवेशनमा ठेगान लगाउनुपर्ने बेला आएको बताइन् । उनले पार्टीविरुद्ध जाने अन्तरघातीहरूलाई महाधिवेशनमा नजिताउन अपील गरेकी छिन् ।

‘भदौ १८ गतेबाट पार्टीको महाधिवेशन शुरु हुँदैछ । सहमति, सहकार्य र एकतालाई पहिलो प्राथमिकतामा राखौं’, उनले भनेकी छिन्, ‘धेरैले क्षेत्रीय प्रतिनिधिमा दावी गरिरहेको पाएको छु । नयाँ कृयाशील साथीहरूले वडा, पालिका र क्षेत्रीय समितिमा बसेर काम गर्दा राम्रो हुन्छ ।’ नेतृ उपाध्यायले भनिन्, ‘प्रत्येक वडाबाट कम्तिमा १६ जना प्रतिनिधि आउनेछन् । सबै क्षेत्रको प्रतिनिधित्व सुनिश्चित छ ।’

नेपालको राजनीतिमा तरुण दलको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उनले अब तरुण दल संगठन निर्माणमा समेत खट्नु आवश्यक भएको सुझाव दिइन् ।

कांग्रेसको बहुमत नहुँदा पनि अहिले सरकार सञ्चालन गर्ने अवसर आएको भन्दै उनले जनताले कांग्रेसलाई चाहेको प्रष्ट भएको बताएकी छिन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले तरुण दलमा आबद्ध नेता कार्यकर्ता इमान्दार भएर पार्टीको संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन् ।

बानियाँले तरुणहरूको भूमिकालाई कांग्रेसले सधैँ स्मरण गर्दै आएको बताए । उनले भने, ‘तरुणहरूले नै हो कांग्रेसको संगठन निर्माणमा सहयोग गर्ने । तपाई तरुणहरूको उर्जा, क्षमता र लगनशीलताले देशको उन्नति हुन्छ । यो उमेरमा अल्छी बन्नु हुँदैन ।’ कांग्रेसको महाधिवेशन सफल बनाउन तरुण दलको भूमिका महत्वपूर्ण हुने नेता बानियाँले बताएका छन् ।

कांग्रेसको हेटौंडा उप–महानगरपालिकाका सभापति आनन्दराम पराजुलीले आफूहरू जनता र कार्यकर्ताको माझमा भैरहँदा केही नेताहरू पार्टी कार्यालयमा धर्ना दिन गएको भन्दै अब गुट, उप–गुट छोडेर अघि बढ्नुपर्ने बताएका छन् ।

पराजुलीले कांग्रेसका सबै नेता कार्यकर्ता अब आउने स्थानीय निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

तरुण दल नगर अध्यक्ष सुनिल गिरीको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसका जिल्ला उप–सभापति विष्णुप्रसाद लामिछाने, प्रवक्ता प्रदीप कोइराला, क्षेत्र नम्बर २ का संघीय सभापति यतीराज सापकोटा, कांग्रेसको कोभिड– १९ अनुगमन समिति संयोजक उत्सव ईटेनी, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, महिला संघ जिल्ला सचिव निलम देवकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

महाधिवेशनको पूर्व सन्ध्यामा तरुण दल नगर समितिले तरुण भेलाको आयोजना गरेको थियो ।

Published : Wednesday, 2021 September 1, 11:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया