ओलीको अहंकारले २४ घण्टा काट्न पाएन, विपक्षीले यसरी लिए जिन्दगीभरि भुल्न नसक्ने गरि बदला

बुटवल । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले प्रतिनिधि सभामा विपक्षी दलहरूमाथि अहंकारपूर्ण अभिव्यक्ति दिएको २४ घण्टाभित्रै एमाले नेतृत्वको लुम्बिनी प्रदेशको सरकार ढलेको छ ।

विपक्षी दलहरूले दर्ता गराएको अविश्वासको प्रस्ताव सामना गर्न नसकेर बुधबार एमालेका नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पदबाट राजीनामा दिएका छन् ।

प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको बुधबारको विशेष अधिवेशन शुरू हुनु अगावै पोखरेलले राजीनामा दिएर भागेका छन् । पोखरेलको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरिसकेका छन् । शेरचनले अब नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।

ओलीले मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरूविरुद्ध अत्यन्तै तल्लोस्तरको अभिव्यक्ति दिएर अहंकार प्रस्तुत गरेका थिए ।

ओलीको अहंकारलाई विपक्ष गठबन्धनले २४ घण्टाभित्र लुम्बिनी प्रदेशको सरकार ढालेर कडा जवाफ दिएका छन् ।

तत्कालीन प्रदेश प्रमुख धर्मानन्द यादव र पोखरेलले जालझेल गरेर मुख्यमन्त्री पद कब्जा गरेको आरोप विपक्षी गठबन्धनको छ ।

पोखरेल नेतृत्वको एमालेको सरकार ढलेपछि विपक्षी गठबन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।

एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनबाट पोखरेल दाङ क्षेत्र नम्बर २ (१) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । पोखरेल आफ्नो घर रहेको क्षेत्रबाट उम्मेदवार नबनेर अर्को निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका थिए । आफ्नै घर भएको निर्वाचन क्षेत्रमा पोखरेल कमजोर मानिन्छन् ।

पोखरेल २०७४ साल फागुन ३ गते पहिलोपटक र गत वैशाख १९ गते दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए ।

असार ३१ गते प्रदेश सभामा बजेट पास गर्न आवश्यक बहुमत नपुगेपछि मुख्यमन्त्री पोखरेल र उनको दल एमालेले संसद बैठक बहिस्कार गरेर भागेका थिए । पोखरेलले अधिवेशन अन्त्य गरेर अध्यादेशबाट वजेट ल्याएका थिए ।

साउन १९ गते विपक्षी चार दलको गठवन्धनका ३४ जना सांसदले मुख्यमन्त्रीविरुद्ध तेस्रोपटक अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई ४१ जनाको हस्ताक्षर बुझाउँदा उपसभामुख कृष्णी थारु, माओवादी केन्द्र रोजिसकेकी विमला खत्री वलीको पनि हस्ताक्षर थियो ।

अमरबहादुर डांगीले आफ्नो हस्ताक्षर कीर्ते गरिएका बताएका थिए । वैशाख १९ गते पोखरलले सपथ नलिंदै दृगनारायण पाण्डेले संसद पदबाट राजीनामा दिएका थिए ।

यसबीचमा पोखरेललाई उनकै क्षेत्रका सांसद डाँगी र कपिलवस्तुका पाण्डेले साथ छाडेका छन् । दृगनारायण कांग्रेस प्रवेश गरेर राष्ट्रिय सभा सदस्य भएका छन् ।

पोखरेलकै गृह जिल्लाकी विमला खत्री वलीले पनि माओवादी केन्द्र रोजेपछि पोखरेलको दल एमालेका सांसदहरुको संख्या ४१ बाट ३८ जनामा खुम्चिएको थियो ।

प्रदेशसभामा हाल ८० जना सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।

वैशाख ६ गतेको अविश्वास प्रस्तावपछि पोखरेलले जसपा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय लम्साललाई सरकारमा सहभागी गराएर बहुमत पु¥याएका थिए ।

भौतिक पुर्वाधार विकास राज्यमन्त्री रायमाझीले असार १८ गते राजीनामा दिएर पार्टीमा फर्किएपछि पोखरेल पुनः अल्पमतमा परेका थिए ।

पोखरेलकै निर्देशनमा विमला वलीलाई साउन १५ गतेदेखि २० गतेसम्म मुख्यमन्त्रीको सरकारी निवासमा ल्याएर बन्धक बनाएको आरोप लगाएकी थिइन् ।

Published : Wednesday, 2021 August 11, 4:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया