बालुवाटारद्वारा प्रहरीभित्र उत्पात हस्तक्षेप, एआईजीहरूको सरुवा, भरखरै आएकालाई आकर्षक ठाउँ

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको कामचलाउ कम्युनिस्ट सरकारले पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ ।

एआईजी सहकुलबहादुर थापालाई मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरेको स्रोतले जनाएको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले थापालाई डीआईजीबाट एआईजीमा बढुवा गरेको थियो ।

मानव श्रोत तथा प्रशासन विभाग प्रहरीभित्र शक्तिशाली मानिन्छन् । यही विभागले प्रहरीको बढुवा, सरुवालगायतको काम गर्छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रहेका एआईजी हरि पालको प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा भएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा एआईजी प्रद्युम्नकुमार कार्कीको सरुवा भएको छ । रानीपोखरी पनि आकर्षक ठाउँ पर्छ ।

एआईजी नीरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । सरकारलाई मन परेन भने विरोधीहरूलाई ठेगान लगाउने स्थानका रुपमा हेरिने गरिएको प्रतिष्ठानमा पोखरेललाई फालिएको छ ।

पोखरेललाई भावी आईजीपीका रुपमा हेरिएको थियो । पोखरेललाई विनाप्रतिस्पर्धा आईजीपी बन्न नदिन ओली सरकारले थापालाई बिहीबार डीआईजीबाट बढुवा गरेर एआईजी बनाएको छ ।

आईजीपी बन्न पोखरेल र थापाबीच कडा प्रतिस्पर्धा हुनेछ । एकल रुपमा डीआईजीबाट एआईजी बन्न सफल भएका पोखरेललाई प्रहरीभित्र जुनियर रहेको आरोप लाग्दै आएको थियो । पोखरेललाई अब आईजीपी बन्न सजिलो छैन । एआईजी थापाले चुनौती थपिदिएका छन् ।

प्रहरी महानिरीक्षक शैलेश थापाले एक वर्ष नभइ प्रहरी प्रमुखहरूको सरुवा नगर्ने आचारसंहिता बनाएका थिए ।

त्यसविपरित पालको ७ महिनामै सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयको अरुचिका बीच बालुवाटारको दबाबमा उनको सरुवा भएको प्रहरी प्रधान कार्यालयका अधिकृतहरू बताउँछन् ।

Published : Friday, 2021 July 9, 10:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया