लमहीको क्रिकेट मैदानको पैसा गायब, दाङको चारलेन सडकबारे देवकोटाले जवाफ मागिन्

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले सरकारले दाङको लमहीस्थित क्रिकेट मैदानलाई बजेट छुट्याको छु भनेर झुठको खेती गरेको आरोप लगाएकी छिन् ।

राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा शून्य समयमा बोल्दै देवकोटाले खेलकुद मन्त्रालयको विनियोजनमा लमहीको मैदानलाई बजेट नरहेको बताइन् ।

‘अर्थमन्त्रीज्यूले बजेट वक्तव्यमा २५३ नं. बुँदामा दाङको लामहीको क्रिकेट मैदानका लागि बजेट विनियोजन गरेको छु भन्नुभयो’, देवकोटाले भनेकी छिन्, ‘तर खेलकुद मन्त्रालयमा विनियोजनमा छैन । यो के तरिका हो ?’

सांसद देवकोटाले दाङ जिल्लामा निर्माणाधीन चार लेनको सडकको काममा भइरहेको ढिलाइका विषयमा पनि सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

‘दाङको निर्माणाधीन चार लेन सडक समयमा सम्पन्न नहुँदा दङ्गाली जनता सास्ती भोग्न बाध्य छन्’, उनले भनेकी छिन्, ‘भर्चुअल माध्यमबाट डिजाइन विनाका सडक शिलान्यास गरेर भर्चुअल संसारमा रमाउने सरकारलाई निर्माणाधीन अस्तव्यस्त सडकको अवस्थाका बारेमा के थाहा होला ?’

सांसद देवकोटाले कोरोनाविरुद्धको खोपमा सरकारले लापरबाही गरेको भन्दै आक्रोश पोखेकी छिन् । उनले दोस्रो डोजको खोप छिटो दिन सरकारसँग आग्रह गरिन् ।

कांग्रेस सांसद देवकोटाले विदेशमा रोजगारीका लागि जान चाहेका नेपालीहरूलाई खोपको व्यवस्था गरिदिन पनि आग्रह गरेकी छिन् ।

Published : Wednesday, 2021 July 7, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया