देउवालाई प्रधानमन्त्री बनाउने आदेश आउँछः रामहरि खतिवडा

इटहरी । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले मुलुकमा लोकतन्त्रमाथि खतरा पैदा भएको भन्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रतिगमन परास्त गर्नुपर्ने बताएका छन् ।

सोमबार नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पहिले पनि परिवर्तनको विपक्षमा रहेको प्रवृत्तिलाई परास्त गर्न गठबन्धन बनेको बताए । उनले ओलीको प्रतिगमत परास्त गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरेका छन् ।

जनताले कम्युनिष्टलाई दिएको करिव दुईतिहाई बहुमत मतको केपी ओली प्रवृत्तिले अपमान गरेको खतिवडाले बताएका छन् ।

‘पूर्व पश्चिम रेल, पानीजहाज, केवलकार कस्ता कस्ता थिए भाषण’, उनले भने, ‘अहिले ६ महिनामा २ पटक सनकका भरमा संविधान विपरित प्रतिनिधिसभा भंग गर्नु परेको छ ।’

कांग्रेस नेता खतिवडाले अब केही दिनमा दोश्रो प्रतिगमन पनि सर्वोच्चले सच्याउने बताएका छन् ।

कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश आउनेमा विश्वस्त रहेको उनले बताएका छन् ।

उनले एमालेका वरिष्ठ नेता माधव नेपाल संविधानको रक्षाका लागि कांग्रेससँग एकजुट भएर हातेमालो गरेर आएको बताएका छन् ।

उनले दोश्रो पटक प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिका पनि अचम्मको भएको संकेत गरेका छन् ।

‘राष्ट्रपति जी पनि कस्तो खै, राति १२ बजे प्रधानमन्त्री ढोका ढक्ढक्याउन जानु हुन्छ’, खतिवडाले भने, ‘उहाँ ढोका खोल्दिनुन्छ ।’

संविधानको पालना गर्ने संस्था पनि प्रतिगमनको साक्षी बनेको कांग्रेस खतिवडाले आरोप लगाएका छन् ।

पत्रकार सम्मेलनमा कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाले कम्युनिस्टहरूले देशलाई बरबाद बनाएको बताए । उनले कांग्रेसले नै अब देशलाई सहि दिशातर्फ लैजानेभन्दै कम्युनिस्टहरू पतनको बाटोतिर गएको बताएका छन् ।

Published : Tuesday, 2021 July 6, 11:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया